१६ बैशाख २०८१, आईतवार
Follow Us

ओली-दाहाल भेटवार्ता स्थगित

नेपालब्रिटेन संवाददाता
८ भाद्र २०७७, सोमबार ०८:५१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज हुने भनिएको भेटवार्ता अन्तिम समयमा आएर स्थगित भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने भनिएको भेटवार्ता ११ बज्नै लाग्दा स्थगित भएको हो ।

नेकपाको आन्तरिक विवाद समाधानका लागि गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदन हिजो अध्ययन गरेका ओली–दाहालले आजदेखि एजेण्डागत छलफल सुरु गर्ने तयारी थियो । तर, प्रधानमन्त्री ओलीले आज समय मिलाउन नसकिएको भन्दै भोलिका लागि भेटवार्ता गर्ने भन्दै दाहाललाई फोन गरेपछि बालुवाटार हिँड्नै लागेका दाहाल निवासमै रोकिएका थिए ।

साउन ३० गते अध्यक्षद्वयले महासचिव विष्णु पौडेल नेतृत्वमा गठन गरेको कार्यदलले भदौ ६ गते १७ पेज लामो प्रतिवेदन बुझाएको थियो । अध्यक्षद्वयको छलफल निष्कर्षमा पुगेपछि सचिवालय बैठक बोलाउने तयारी गरिएको छ । सचिवालय बैठकमा छलफल गरेपछि प्रतिवेदन पार्टीको जारी स्थायी कमिटी बैठकमा प्रस्तुत हुनेछ ।