१६ बैशाख २०८१, आईतवार
Follow Us

निषेधाज्ञा अवधि बढाउन बैठक जारी

नेपालब्रिटेन संवाददाता
९ भाद्र २०७७, मंगलवार ०८:५३

काठमाडौँ । कोरोना सङ्क्रमण रोकथाम तथा जोखिम न्यूनीकरण गर्न बुधवार मध्यरातदेखि जारी गरिएको निषेधाज्ञाको अवधि थप्न उपत्यकास्थित काठमाडौँ, भक्तपुर र ललितपुर प्रशासनको संयुक्त बैठक बसेको छ ।

आज मङ्गलवार बसेको बैठकले आजसम्मको अवस्थाबारे समीक्षा गर्दै १० गतेसम्म जारी गरिएको निषेधाज्ञाको अवधि बढाउने छ । त्यसअघि प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठक बस्नेछ ।

सोमबार उपत्यका नगरपालिका फोरमले पनि भदौ १५ गतेसम्मका लागि स्थानीय तहबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै सेवा स्थगनको निर्णय गरेको छ । फोरमले निषेधाज्ञा भदौ १५ गतेसम्म बढाउन सिफारिस गरिसकेको छ । सो बैठकसँगै आजै स्थानीय तहसँग पनि प्रशासनले संयुक्त बैठक बस्ने बताएको छ । जसमा फोरमको सिफारिस संयुक्त बैठकमा पेस गरिनेछ ।

बुधवार मध्यरातदेखि जारी गरिएको निषेधाज्ञाको अवधि भोलि बुधवार सकिनै लाग्दा हिजै भक्तपुर र ललितपुर जिल्ला सुरक्षा समिति र डीसीसीएमसी बैठकले निषेधाज्ञाको अवधि बढाउने निर्णय गरेका छन् । दुवै प्रशासनले आ–आफ्ना निर्णय मंगलबार बस्ने संयुक्त बैठकमा पेस गरिने बताएका छन् ।