१६ बैशाख २०८१, आईतवार
Follow Us

झापामा स्थानीय र प्रहरीबीच विवाद हुँदा सशस्त्रको गोली लागेर एकको मृत्यु

नेपालब्रिटेन संवाददाता
११ भाद्र २०७७, बिहीबार ०४:०३

दमक । झापा गाउँपालिकामा बुधबार साँझ गोली लागेर घाइते भएका स्थानीय रसिक आलमको उपचारका क्रममा मृत्यु भएको छ । पेटमा गोली लागेका आलमलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पताल भर्ना गरिएको थियो ।

चिन्ताजनक अवस्थामा अस्पताल भर्ना गरिएका आलमको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका–३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाउँदा आलम घाइते भएका थिए ।

गोरु काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लैजान खोजिएपछि स्थानीयबासी आक्रमणमा उत्रिएको झापा गाउँपालिकाका प्रमुख जय नारायण साहले बताए ।

कामाटोली बजारमा गोरु काट्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा झापा गाउँपालिका–३ का अब्दुल सलाम र ताजमल हक रहेका छन् । दिउँसो ताजमल हकको घरमा गोरु काट्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बेस क्याम्प टाघनडुब्बाबाट गएको संयुक्त टोलीले मासुसहित ती दुवैलाई पक्राउ गरेको थियो ।

गोरु काट्नेहरुलाई लैजान खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए । उनले त्यसक्रममा केही राउण्ड हवाई फायर भएको जनाए ।आक्रोशित भीडले अहिले पनि कामाटोली बजारमा टायर बालेर विरोध प्रदर्शन गरिरहेको छ ।