३० बैशाख २०८१, आईतवार
Follow Us

राष्ट्रियसभामा युवराजलाई नै लैजाने प्रधानमन्त्री ओलीको प्रयास जारी

नेपालब्रिटेन संवाददाता
२३ भाद्र २०७७, मंगलवार ०४:३२

काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निबर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई पुनः राष्ट्रियसभामा मनोनित गर्न प्रयास जारी राखेका छन् । यसअन्तर्गत अध्यक्ष तथा प्रधानमन्त्री ओलीले उपाध्यक्ष बामदेब गौतमलाई फकाउने र गलाउने दुई रणनीति एकसाथ अघि सारेको देखिएको छ ।

ओलीले फकाउने रणनीतिअनुसार गौतमलाई राष्ट्रियसभामा जाने निर्णय आफै फिर्ता लिन प्रत्यक्ष, अप्रत्यक्ष आग्रह गरिरहेको बालुवाटारनिकट स्रोतले जानकारी दिएको छ । यसका लागि उन्लाई ‘आकर्षक’ प्रस्ताब अघि सारिएको स्रोत बताउँछ । स्रोतका अनुसार राष्ट्रियसभामा जाने निर्णय फिर्ता लिए उनको भागमा दुई मन्त्री, संबैधानिक नियुक्तिमा एक दर्जन कोटा र अन्य नियुक्तिमा समेत कोटा दिने प्रस्ताब अघि सारिएको छ ।

यो फकाउने रणनीतिको प्रभाबकारी कार्यान्वयनको लागि ओलीले गौतमको मनस्थितिमा बदलाब ल्याउन गलाउने अर्को रणनीति सँगसँगै अघि बढाएको स्रोतले जानकारी दिएको छ । यसअन्तर्गत सामाजिक सन्जाल र मिडियाहरुमार्फत गौतमको हुर्मत लिने र उनको बद्नाम गराउने काम भइरहको छ । हरुवा, नैतिकहीन, पदलोलुप, जतिखाए पनि नअघाउने हुण्डर भनेर अहिले बामदेब गौतमको सामाजिक सन्जाल र मिडियाहरुमा सत्तोसराप भइरहेको छ । उनी मुख देखाएर हिड्नसमेत मुस्किल हुने गरी जनताले गाली गरिरहेका छन् । यसमा ओली संरक्षक भएको मदन भण्डारी फाउन्डेशनका कार्यकर्ताको अत्यन्तै ठूलो सक्रियता देखिएको छ ।

उता साँसद बनाए पनि गौतम संबैधानिकरुपमा मन्त्री भने बन्न पाउँदैनन् भन्ने बहस पनि सुरु गराइएको छ । प्रतिनिधिसभामा हारेको हुनाले यो कार्यकालभरि उनी मन्त्रीपरिषदको सदस्य हुन पाउँदैनन् भनेर बहस गराउने पनि ओलीनिकट कार्यकर्ताहरु नै सक्रिय देखिएका छन् । आफ्ना कार्यकर्ताभन्दा एक कदम अघि बढेर प्रधानमन्त्री ओलीले नै अहिले मन्त्रीपरिषद पुनर्गठन नहुने हुदा ढुक्कले काम गर्न भनिसकेका छन् । राष्ट्रिय सभामा गौतमलाई लैजाने दोस्रो प्रस्ताब पारित भएको दोस्रो दिन गत शुक्रबार सम्पन्न मन्त्रीपरिषदको बैठकमा ओलीले गौतमलाई लक्षित गरेरै यस्तो भनाई राखेका थिए ।

गौतम साँसद मात्र बन्न जाने होइनन् भन्ने ओलीलाई राम्रोसँग हेक्का छ । उनी उपप्रधानमन्त्रीसहित अर्थमन्त्री हुन खोजिरहेका छन् । मन्त्री हुने अबस्था नआउने हो भने गौतमको मनस्थिति परिबर्तन हुन्छ नै । यस अबस्था निर्माण गरेर गौतमलाई पछि फर्काउने र दुई मन्त्री तथा अन्य राजकीय नियुक्तिका केही कोटाहरु दिने ओलीको रणनीति भएको स्रोतको दाबी छ ।

गौतमलाई पार्टी सचिबालयले राष्ट्रियसभामा लैजाने दोस्रो पटक निर्णय गरे पनि त्यसको भोलिपल्ट बसेको मन्त्रीपरिषदको बैठकले उन्लाई सिफारिस गरेन । स्वयम् गौतम र पार्टीका अन्य नेताहरुले शुक्रबारको मन्त्रीपरिषदको बैठकले नै यस्तो निर्णय गर्ने अपेक्षा गरेका थिए । दिन घर्किदै जाँदा ओली गौतमलाई फकाएर आफै पछि फर्काउने रणनीति चाल्न थालेका छन् ।

ओली यसमा सफल भए भने राष्ट्रियसभामा पुनः युवराज खतिवडा नै मनोनित हुने संभाबना प्रबल रहेको स्रोतको दाबी छ । संबैधानिकरुपले मन्त्री छाड्नै पर्ने बाध्यताले खतिवडा अर्थमन्त्रालयबाट बहिर्गमन हुदा ओलीमा निकै बेचैनी देखिएको छ । त्यसैले अर्थमन्त्रालय कसैलाई नदिएर आफैसँग राखेका छन् भने बालुवाटारमा युवराजलाई राखेर सम्पूर्ण हेर्न काम उनैको जिम्मा लगाएका छन् । खतिवडा राष्ट्रियसभाका सदस्य भए सतप्रतिशत अर्थमन्त्री फेरि उनै हुनेछन् ।