२२ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतमा स्वयंसेवकलाई जानाजान कोरोना संक्रमित बनाइने

नेपालब्रिटेन संवाददाता
९ आश्विन २०७७, शुक्रबार ०४:३४

लन्डन । बेलायतले खोप परीक्षण गर्नका लागि स्वस्थ स्वयंसेवकहरूलाई कोरोना भाइरसबाट सङ्क्रमित बनाउने भएको छ । “च्यालेन्ज ट्रायल“ भनिने यो परीक्षण लन्डनमा गर्न लागिएको हो । स्वयंसेवकलाई कोरोना भाइरसबाट जानाजान सङ्क्रमित बनाएर सम्भावित खोपको प्रभावकारिता जाँच्न लागिएको हो ।

बेलायत सरकारले ह्यूमन च्यालेन्ज स्टडीज मार्फत् खोप विकास गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ। तर हालसम्म कुनै पनि किसिमको सम्झौता भने भैनसकेको बताइएको छ । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक पीटर होर्बीले परीक्षणवाट रोगको वास्तविकता बुझ्न सकिने बताएका छन् ।

बेलायती युवाहरूले परीक्षण गर्न सहमति दिइएमा स्वयंसेवक बन्न तयार रहेको बताएका छन् । महामारीवाट बाहिर ल्याउन र हजारौंको जीवन रक्षाका लागि परीक्षण अर्थपूर्ण हुने उनीहरूको भनाइ छ ।

प्राध्यापक होर्बीका अनुसार यस्ता परीक्षणमा स्वंयमसेवकहरूलाई नजिकबाट नियालिने छ । उनीहरूले भाइरस प्रति कस्तो प्रतिक्रिया जनाइरहेका छन् भन्ने कुरा हेर्नका लागि उनीहरूको प्रतिरोध प्रणालीको अनुगमन गरिनेछ ।

कोरोना भाइरस विरुद्ध खोप विकास गर्नका लागि विश्वभर तीव्र गतिमा पहल भइरहेको छ । हालसम्म ३६ वटा खोप क्लिनीकल परीक्षणका चरणमा छन् । त्यसमध्ये एक अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोप परीक्षणको अन्तिम चरणमा छ ।