२१ बैशाख २०८१, शुक्रबार
Follow Us

विश्व कोरोना संक्रमितको ४३ औं नम्बरमा नेपाल

नेपालब्रिटेन संवाददाता
२३ आश्विन २०७७, शुक्रबार ११:४७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६७६ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १६८० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ ।

सक्रिय संक्रमित २७ हजार बढी
शुक्रबार देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ११ हजार १७६ जना रहेका छन् । यस्तै होम आइसोलेसनमा १५८७७ जना संक्रमित बसेका छन् । १ हजार ६८० जना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको छ ।

विश्वभर फैलिएको कोरोना महामारीको ग्राफमा नेपाल अब ४२ औं नम्वरमा आइपुगेको छ । कोरोना महामारीको सुरुवात भएको छिमेकी चीन ४७ औं नम्वरमा रहेको छ । चीनमा कुल संक्रमितको संख्या ८५ हजार ५२१ जना मात्रै रहेको छ ।

उपत्यकामा थपिए १४०९
काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण उच्च दरमा बढिरहेको छ । एक सातामै १० हजार संक्रमित थपिइसकेको काठमाडौंमा शुक्रबार १ हजार ४०९ जना नयाँ संक्रमित बढेका छन् । काठमाडौंमा मात्रै १ हजार ११६ संक्रमित थपिएका छन् । ललितपुरमा १६३ जना र भक्तपुरमा १३० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

चाडवाडको समयमा आम मानिसहरु जनस्वास्थ्य मापदण्डलाई ख्याल नगर्दै बजारमा सपिङ गर्न हिँड्ने प्रवृत्ति बढिरहेको छ । जसका कारण संक्रमितहरु बढ्दै गएको मन्त्रालयको ठहर छ । सार्वजनिक सवारी साधानमा पनि असुरक्षित ढंगले मानिसहरु ओहोरदोहोर गरिरहेका छन् । स्वास्थ्य मन्त्रालयले अति जरुरी काम नपरेसम्म घरबाहिर ननिस्कन, चाडवाडको नाममा बजार नडुल्न र यसपटकको दशैं तिहार जो जहाँ छौं त्यहीँ बसेर मनाउन निरन्तर आग्रह गरिरहेको छ ।