आइएलओको सहयोगमा एनआरएनए कर्मचारीका लागि आवासीय सुविधासहितको तीनदिने कार्यशाला भोलिदेखि
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा रहेका नेपाली आप्रवासी श्रमिकलाई प्रदान गरिने सेवा थप प्रभावकारी, व्यवस्थित र जवाफदेही बनाउन तीनदिने रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला आयोजना गर्ने भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा आयोजना हुन लागेको कार्यशाला सन् २०२६ अक्टोबर २८ देखि ३० सम्म सञ्चालन हुनेछ। कार्यशालामा सहभागीहरूका लागि आवासीय सुविधासमेत उपलब्ध गराइनेछ।
‘एनआरएनएलाई सशक्त बनाउँदै: उद्देश्यपूर्ण नेतृत्व, संवेदनशील व्यवस्थापन’ भन्ने मूल नाराका साथ आयोजना हुने कार्यशालामा एनआरएनएका पदाधिकारी, विभिन्न देशका प्रतिनिधि तथा सचिवालयका कर्मचारीहरूको सहभागिता रहनेछ।
‘गन्तव्य मुलुकमा रहेका नेपाली आप्रवासी श्रमिकका लागि सेवा अभिवृद्धि गर्न एनआरएनएको संस्थागत क्षमता सुदृढीकरण’ परियोजनाअन्तर्गत सञ्चालन हुन लागेको कार्यशालाको मुख्य उद्देश्य एनआरएनएको संस्थागत क्षमता विकास गर्नुका साथै विदेशमा रहेका नेपाली श्रमिकका समस्या सम्बोधन गर्न आवश्यक नेतृत्व, समन्वय र सेवा प्रवाह प्रणालीलाई सुदृढ बनाउनु रहेको छ।
कार्यशालाको पहिलो दिन संस्थागत सुशासन, नेतृत्वको भूमिका, विभिन्न देशमा रहेका एनआरएनए प्रतिनिधि र काठमाडौंस्थित सचिवालयबीचको जिम्मेवारी बाँडफाँट तथा निर्णय प्रक्रियाबारे छलफल हुनेछ। साथै, अभिलेख व्यवस्थापन, फाइलिङ प्रणाली, जिम्मेवारी हस्तान्तरण तथा बैठकका निर्णय र कार्यसम्पादनको अभिलेख राख्ने विषयमा व्यावहारिक अभ्यास गराइनेछ।
दोस्रो दिन प्रतिवेदन तयारी, आर्थिक व्यवस्थापन, वित्तीय अभिलेख राख्ने प्रक्रिया, सामाजिक सुरक्षा कोष (एसएसएफ) मा आप्रवासी श्रमिकको आबद्धता तथा नेपाली दूतावासहरूसँगको सहकार्यमा केन्द्रित सत्रहरू सञ्चालन हुनेछन्। श्रमिकका समस्या तथा उजुरी व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने, सम्बन्धित निकायमा पठाउने र लिखित रूपमा अनुगमन गर्ने प्रक्रियाबारे पनि अभ्यास गराइनेछ।
कार्यशालाको तेस्रो दिन स्रोत परिचालन, आर्थिक सहयोग जुटाउने उपाय तथा सहभागी र देशगत समितिहरूका लागि कार्ययोजना निर्माणमा जोड दिइनेछ। सहभागीहरूले प्राथमिकताका आधारमा तीनवटा प्रमुख कार्य पहिचान गरी जिम्मेवार व्यक्ति, कार्य सम्पन्न गर्ने समयसीमा र अनुगमन संयन्त्र निर्धारण गर्नेछन्।
यसैगरी, विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा स्वदेश फिर्तीसम्बन्धी नयाँ स्वीकृत कार्यविधि, २०८३ का विषयमा जानकारी दिइनेछ। मलेसियास्थित नेपाली राजदूतावासका लागि तयार गरिएको आप्रवासी श्रमिकलाई प्रभावकारी र दक्ष सेवा प्रवाह सुनिश्चित गर्ने मानक सञ्चालन कार्यविधि (एसओपी) बारे पनि छलफल हुनेछ।
कार्यशालामा परराष्ट्र मन्त्रालयको ‘मोफा मित्र’ एपबारे जानकारीमूलक प्रस्तुति समावेश गरिएको छ। उक्त एपले विदेशमा रहेका नेपाली नागरिकलाई समस्या तथा कन्सुलर सेवासम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न र सम्बन्धित निकायसँग समन्वय गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कार्यशालामा सैद्धान्तिक छलफलसँगै वास्तविक घटनामा आधारित अभ्यास, समूहगत कार्य, अनुभव आदानप्रदान तथा सहकर्मीबाट सुझाव र प्रतिक्रिया लिने प्रक्रियालाई प्राथमिकता दिइनेछ।
एनआरएनएले यस पहलमार्फत आफ्नो संस्थागत संरचना, कार्यप्रणाली र जवाफदेहितालाई थप सुदृढ गर्दै विदेशमा रहेका नेपाली श्रमिकका समस्या समाधान गर्ने क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। साथै, एनआरएनएका राष्ट्रिय तथा देशगत समितिहरू, सचिवालय, सरकारी निकाय, सामाजिक सुरक्षा कोष र नेपाली कूटनीतिक नियोगबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
तीनदिने कार्यशालाको अन्तिम दिन सहभागीहरूको समीक्षा तथा मूल्याङ्कन गरी प्रमाणपत्र वितरणसहित कार्यक्रम समापन गरिनेछ।




