२१ बैशाख २०८१, शुक्रबार
Follow Us

कैलालीमा ३ दिनदेखि बेपत्ता प्रहरी जवान साउद पनि मृत भेटिए

नेपालब्रिटेन संवाददाता
४ कार्तिक २०७७, मंगलवार ०९:३१

कैलाली । कैलालीको जुगेड अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको पनि शव भेटिएको छ । झण्डै ६० घण्टादेखि वेपत्ता प्रहरी जवान साउदको शव मोहना नदीमा फेला परेको हो ।

बेपत्ता भएदेखि प्रहरीले उनको खोजि कार्य जारी राखेको थियो । प्रहरीका अनुसार साउदको शव मोहना नदीमा असई बिकको शव भेटिएको ठाउँभन्दा करिब २ सय मिटर टाढा भेटिएको हो ।

गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र जवान साउद वेपत्ता भएका थिए । असई बिकको शव आइतबार बिहान नेपाल–भारत सीमास्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेको थियो ।

सलियापार र बनकट्टीको घाटको बीचमा असइ बिकको शव फेला परेको थियो । प्रहरी जवान साउदको शव भने बिकको शव फेला परेको स्थानबाट दुइ सय मिटरमाथि नदीमै फेला परेको हो ।

प्रहरीले बिकको हत्यामा संलग्न गिरोहलाई पक्राउ गरिसकेको जनाएको छ । हत्यामा संलग्न मध्ये केही अझै फरार रहेकोले खोजी तीब्र पारिएको प्रहरीको भनाइ छ ।