२३ बैशाख २०८१, आईतवार
Follow Us

ओली प्रचण्ड भेट निष्कर्षविहीन

नेपालब्रिटेन संवाददाता
२० कार्तिक २०७७, बिहीबार १०:२१

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा पाँच दिनपछि भएको छलफल निष्कर्षविहीन भएको छ । करिब दुई घण्टा चलेको छलफलमा नेकपाभित्रको विवाद समाधानबारे ठोस् सहमति जुट्न नसकेको हो ।

भेटमा दाहालले पार्टीभित्र गम्भीर संकट आएकोले तत्काल सचिवालय हुँदै स्थायी कमिटीदेखि केन्द्रीय कमिटीको बैठक राख्न प्रस्ताव राखेका छन् । पार्टी भित्रका विवाद बारे छलफल गर्न दाहालले सचिवालय बैठक बोलाउन पुनः प्रस्ताव गरेपनि ओली त्यसमा सहमत नभएका हुन् ।

ओलीसँगको छलफलपछि दाहालले निकटका नेतालाई प्रधानमन्त्रीसँग वार्ताका लागि धाउनुको औचित्य नभएको बताएका छन् । राजदूत सिफारिस, मन्त्रिमण्डल हेरफेर, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता, ‘रअ’ प्रमुखसँगको भेटलगायत कारण नेकपाका दुई अध्यक्षबीच विवाद बढ्दै गइरहेको छ ।

सरकारले महत्त्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने निर्णय ओलीले नमानेको दाहालको आरोप छ । यसैविच अध्यक्ष दाहाल र वरिष्ठ नेता माधव नेपालले पार्टी कार्यालय पेरिस डाँडामा बरिष्ठ अधिवक्तासँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले पार्टी फुटाएर जान कार्यकारी अध्यक्ष दाहालसँग प्रस्ताव राखेसँगै त्यसका कानुनी जटिलताका विषयमा भेटमा कुरा भएको बुझिएको छ ।