२२ बैशाख २०८१, शनिबार
Follow Us

डुबेकी चिनियाँ युवतीलाई बचाउन नदीमा हाम फालेका बेलायती कूटनीतिज्ञको भिडिओ भाइरल

नेपालब्रिटेन डट कम्
२ मंसिर २०७७, मंगलवार १६:०६

बेलायत र चीनमा अहिले एउटा भिडिओ भाइरल भएको छ। उक्त भिडिओमा चिप्लिएर नदीमा डुबेकी एक जना युवतीलाई जोगाउन एक जना पुरूष नदीमा हाम फालेका छन्।

घटना गत शनिबारको हो। दक्षिण पश्चिम चीनको चोङछिङ सहरको नदीमा मानिसहरू घुमघाम गरिरहेका थिए।

त्यही क्रममा एक जना २४ वर्षीया युवती ढुंगामा चिप्लिएर नदीमा खसिन्। उनी खसेको भन्दा अलिकति तल सानो पुल छ। उनी डुबेर त्यही पुलभन्दा तल पुगिन्। त्यतिञ्जेल उनलाई बचाउन कोही तयार भएनन्। केहीबेरमा एक जना पुरूषले जुत्ता फुकाले र नदीमा हाम फाले।


ती ६२ वर्षीय पुरुष चिनियाँ नागरिक थिएनन्। उनी त चोङछिङका लागि बेलायती महावाणिज्यदूत स्टेफन एलिसन थिए।

एलिसनले पौडेर ती युवतीलाई समाते। अनि कसैले फालेको रातो बेल्टको सहाराले उनलाई नदीबाट बाहिर निकाले। त्यतिञ्जेल उनलाई अरूलाई पनि सहयोग गरेका थिए।

एलिसनले आफ्नै ज्यानलाई जोखिममा राखेर गरेको यो उद्धारको त्यहाँ उपस्थितले भिडिओ खिचेका थिए। अहिले त्यही भिडिओ दुबै देशका सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।