२८ बैशाख २०८१, शुक्रबार
Follow Us

नेकपा सचिवालय बैठक बस्दै, रणनीतिबारे अन्योल

नेपालब्रिटेन संवाददाता
१६ मंसिर २०७७, मंगलवार ०४:१९

काठमाडौं । नेकपाको सचिवालयको बैठक आज बस्दै छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पत्रमार्फत वाकयुद्धमा गएसँगै अन्योल कायम रहेका बेला सचिवालय बैठक आज पुनः बस्न लागेको हो ।

कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष दाहालले छुट्टै प्रस्ताव बैठकमा पेश गरेसँगै नेकपामा तरंग पैदा भएको थियो । दाहालको प्रस्तावमा प्रधानमन्त्री एवम् अर्का अध्यक्ष ओलीले एकलौटी ढंगबाट सरकार र पार्टी चलाउन खोजेको र विगतमा आफूसँग भएका सहमतिविपरीत अघि बढेकोलगायतका आरोप लगााउनुभएको थियो ।

त्यसपछि प्रधानमन्त्री ओलीले यही मंसिर १३ गतेको बैठकमा दाहालको प्रश्नको जवाफसहित अर्को प्रस्ताव पेश गर्नुभएको थियो ।

ओलीको प्रस्तावमा गत निर्वाचनको मत परीणाम र जनअपेक्षा र पार्टी एकीकरणको अंकगणित विपरीत दाहाल बढी महत्वाकांक्षी भएकोलगायतका आरोप लगााउनुभएको छ । दुवै अध्यक्षले एकअर्कालाई आरोप प्रत्यारोप लगाएसँगै नेकपाको आगामी रणनीतिबारे अन्योलता बढेको छ ।

आजको बैठकमा दुवै प्रतिवेदनमाथिको छलफलसँगै नेकपा निर्णायक मोडमा पुग्ने बताइएको छ । दुवै अध्यक्षका आरोप प्रत्यारोप लिखित रुपमै सचिवालय बैठकमा पेश भएसँगै समस्या समाधानका लागि दोस्रो तहका नेताहरु सक्रिय भएका छन् ।

दाहालले प्रस्ताव पेश गरेसँगै तथ्यहीन आरोप लगाइएको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई खारेज गर्न दवाव दिँदै दाहालसँग विभिन्न नेताहरुमार्फत दवाव दिनुभएको थियो । तर दाहालले सो प्रस्ताव छलफल हुनैपर्ने भएकाले फिर्ता नहुने अडान लिएपछि प्रधानमन्त्री ओलीले जवाफी प्रस्ताव ल्याउनुभएको हो ।

तर आज बस्ने बैठकले विवाद समाधनका लागि दुवै अध्यक्षको प्रस्ताव खारेज गरेर गत भदौ २६ गतेको निर्णअनुसार नै अघि बढ्न दवाव दिएको अध्यक्षद्वयका निकट नेताहरुले बताएका छन् ।