२८ बैशाख २०८१, शुक्रबार
Follow Us

सर्वदलीय बैठक बस्दै, कांग्रेसको छुट्टै एजेन्डा

नेपालब्रिटेन संवाददाता
२३ मंसिर २०७७, मंगलवार ०३:४२

काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार सर्वदलीय बैठक बोलाएका छन् । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाले सामाजिक सञ्जालमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक प्रधानमन्त्री ओलीले आयोजना गरेको उल्लेख छ ।

पछिल्लो समय देशभर राजावादीहरुको आन्दोलन बढेसँगै यसबारे प्रमुख राजनीतिक पार्टीहरुको चासो व्यक्त हुन थालेको सन्दर्भमा ओलीले सर्वदलीय बैठक आह्वान गरिएको हो ।

गत शनिबारमात्रै प्रधानमन्त्रीको गृह जिल्ला झापासहित देशका विभिन्न स्थानमा राजावादीहरुको बाक्लो उपस्थितिमा प्रदर्शन भएको छ । कोरोना महामारीका बीच नै गणतन्त्रमाथि प्रश्न उठाउँदै ठूलो संख्यामा युवाहरु सडकमा आएपछि तरंग उत्पन्न भएको छ ।

प्रमुख विपक्षी दल नेपाली काँग्रेसले पनि सर्वदलीय बैठकमा पेश गर्ने आफ्ना एजेण्डाहरु टुंगो लगाएको छ । सर्वदलीय बैठक बस्ने आव्हान भएपछि आफ्नो पार्टीको तर्फबाट एजेण्डा पेश गर्न काँग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।

नेपाली काँग्रेसका नेता बालकृष्ण खाणले बैठकमा कांग्रेसले कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार पूर्ण असफल भएको, भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण जनतामा निराशा छाएको र बेरोजगारीको समस्या बढेका विषयमा सरकारलाई ध्यानाकर्षण गराउने जानकारी दिए ।

त्यस्तै कांग्रेसले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि आँच आउन नदिन सरकारलाई सचेत गराउने नेता खाणले बताए ।