२८ बैशाख २०८१, शुक्रबार
Follow Us

इरानमा एक पत्रकारलाई मृत्युदण्ड दिइयो

नेपालब्रिटेन संवाददाता
२७ मंसिर २०७७, शनिबार १०:२७

तेहरान । इरानले शनिबार एक पत्रकारलाई मृत्युदण्ड दिएको छ । ४७ वर्षका रुहोल्लाह जामलाई झुन्ड्याएर मृत्युदण्ड दिइएको हो । पत्रकार रुहोल्लाहको वेबसाइट अमदन्युजले इरानमा प्रदर्शनलाई उक्साएको आरोप लगाइएको छ ।

समाचार लेखेकै कारण उनलाई झुन्ड्याइएको भन्दै विश्वभरका अधिकारवादी संस्थाले यस कार्यको विरोध गरेका छन । उनीमाथि सन् २०१७ मा अर्थतन्त्रको विषयमा देशव्यापी आन्दोलन गर्न प्रेरित गरेको आरोप सरकारले लगाएको छ । गत जुन महिनामा उनलाई इरानी अदालतले मृत्युदण्ड दिने फैसला सुनाएको थियो । उनीमाथि भ्रष्टाचार गरेर सरकारलाई उल्ट्याउन खोजेको आरोप लगाइएको थियो ।

सन् २०१७ को आन्दोलनको क्रममा ५ हजार मानिसलाई प्रहरीले गिरफ्तार गरेको थियो । प्रदर्शनमा २५ जनाको मृत्यु भएको थियो । रिपोर्टर्स विथआउट बोर्डरका अनुसार इरानमा प्रेस स्वतन्त्रताको अवस्था निकै नाजुक छ । सन् २०२० को तथ्यांक अनुसार इरान प्रेस स्वतन्त्रता भएको देशको १ सय ७३ औं स्थानमा छ ।