काठमाडौ । चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको अवैध तथा अनधिकृत भएको बताएका छन् । आज एक विज्ञप्ति प्रकाशित गर्दै उनले प्रधानमन्त्रीले अधिनायकवादी शैली देखाएको बताएका हुन ।
डाक्टर केसीले नेपाल प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीको निजी सम्पत्ति नभएको बताउँदै जनताले उनीहरुलाई पूर्वराजा ज्ञानेन्द्रको हालतमा पु-याइदिने चेतावनी समेत दिएका छन । उनले संबिधान र गणतन्त्र जनताले रगत बगाए ल्याएको भन्दै त्यसलाई आफ्नो स्वार्थको फुटबल नबनाउन पनि आग्रह गरे ।
संविधानलाई आफ्नो स्वार्थको फुटबल बनाउनेहरुलाई दण्डित गर्नु नागरिकको कर्तव्य हुने केसीको भनाइ छ । संबिधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर चालिएको कदमलाई न्यायालयले सच्चाउने अपेक्षा गरेको पनि उल्लेख गरेका छन । न्यायालय पनि अग्निपरीक्षामा रहेको भन्दै डाक्टर केसीले सत्ताको उन्मादमा रहेका व्यक्तिहरुको प्रहारबाट विधिको शासन र संविधानलाई जोगाउने जिम्मेवारी नागरिकको भएको स्पष्ट पारेका छन ।
संविधान र विधिको शासनलाई निःशर्त स्थापित गर्न सके मात्रै सबैको कल्याण हुने भन्दै त्यसमा क्रियाशील हुनपनि केसीले आग्रह गरेका छन ।