काठमाडौं । केपी ओली सरकारको असंवैधानिक कदमविरुद्ध कांग्रेस एक्लै आन्दोलन गर्न सक्षम रहेको नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले बताएका छन् । उनले भने, ‘आन्दोलन गर्दा अरु राजनीतिक दलसँग मिल्न हुँदैन ।’
पूर्वप्रधानमन्त्री सुशील कोइरालाको छैठौँ स्मृति दिवसको अवसरमा सोमबार सुशील कोईराला सोसलिष्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको ‘संकटमा संविधान विषयक’ विचार गोष्ठीमा महामन्त्री कोईरालाले भने, ‘नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु नहुने उनको भनाई थियो । संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुन्छ ।’
महामन्त्री कोइरालाले आफ्नो कार्यकर्ताहरुलाई समेटेर एकजुट बनाएर लिएर जान सके कांग्रेसको भविष्य उज्वल रहेको उनले बताए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले अहिलेको समस्याको मुख्य जड प्रधानमन्त्री ओलीको मानसिकता रहेको बताए । ओलीलाई जनताले संसद, संविधान र कानुनको अधिनमा बसेर शासन गर्न चुनाव जिताएर पठाएको भए पनि कानुन, संविधान, अदालत केही नमान्ने प्रवृत्ति ओलीमा रहेको उनको भनाइ थियो।