८ जेष्ठ २०८१, मंगलवार
Follow Us

मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट आज पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झर्ने

नेपालब्रिटेन संवाददाता
२२ फाल्गुन २०७७, शनिबार ०४:३३

काठमाडौं । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट आज पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झर्ने भएको छ । हाल परीक्षणका लागि सुरुङमा पठाइएको पानी आज अपरान्हसम्म सुन्दरीजलमा आइपुग्ने भएको हो ।

सुन्दरीजलमा पानी आएपछि प्रधानमन्त्री केपी ओलीले त्यसको अवलोकन गर्ने कार्यक्रम रहेको छ । शुक्रबारसम्म पानी १९ किलोमिटरको दुरीमा पानी आइपुगेको छ । एक किलोमिटर जति असजिलो भाग रहेको र त्यसपछि बाँकी भाग ओरालो भएकाले आजसम्म पानी सुन्दरीजल आउने भएको हो ।

यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो ।

मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्या बारेमा सजगता अपनाइएको थियो । हाल परीक्षणका लागि २ सय ६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ ।

परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने बताइएको छ । यसैबीच, वाग्मतीमा पानीको सतह बढ्न सक्ने भन्दै सजग रहन आयोजनाले सर्वसाधारणलाई आग्रह समेत गरेको छ । आयोजनाले सुन्दरीजलदेखि बल्खुसम्मको क्षेत्रमै माइकिङ गरी सजग रहन तथा नदी आसपास नजान आग्रह गरेको हो ।