८ जेष्ठ २०८१, मंगलवार
Follow Us

आफूसहितका नेतालाई स्पष्टीकरण सोध्ने निर्णय नै अवैध: रावल

नेपालब्रिटेन संवाददाता
८ चैत्र २०७७, आईतवार १४:३४

काठमाडौ ।नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले आफूसहितका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गर्नु अवैध भएको बताएका छन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै रावलले उक्त निर्णय ओलीको ‘निरंकुश, स्वेच्छाचारी प्रवृत्तिको द्योतक भएको उल्लेख गरेका छन् । त्यस्तो निर्णयलाई उनले अस्वीकार गर्ने जनाएका छन् ।

प्रतिनिधिसभा विघटन गर्दै प्रतिगमनको षड्यन्त्र गर्ने केपी ओलीले अवैध कमिटीको कथित बैठकबाट नवौँ राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कमिटीका नेताहरुलाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने कथित निर्णय गर्नु अवैध र हास्यास्पद भएको उनको भनाइ छ । नेकपा (एमाले)को विधान उल्लंघन गर्दै फागुन २८ गते मनपरी निर्णय गरी पार्टी विभाजनको रेखा कोर्नेजस्ता क्रियाकलाप गरेको भन्दै उनले यसबारेमा ओलीले स्पष्टीकरण दिनुपर्ने जिकिर गरेका छन् ।

त्यस्तै नेता घनश्याम भुसालले आफूलाई स्पष्टीकरण सोधिएकोबारे कुनै औपचारिक जानकारी नपाएको बताएका छन् । नेता भुसालले आफूलाई त्यसबारे कुनै जानकारी नआएको बताउँदै त्यो अध्यक्ष केपी शर्मा ओलीको योग्यताभित्रको कुरा भएको प्रतिक्रिया दिएका छन् । उनले यस्ता कारबाहीका कुराहरु अझै आउने बताए । प्रधानमन्त्री ओली देश र पार्टी दुवैतिर कहीँकतै प्रणाली बाँकी रहेको भए त्यसलाई भत्काउन उद्दत रहेको आरोप समेत उनले लगाए ।