१८ बैशाख २०८१, मंगलवार
Follow Us

म्यानमारमा प्रदर्शनमा उत्रेका ११४ जनाको गोली हानी हत्या

नेपालब्रिटेन संवाददाता
१५ चैत्र २०७७, आईतवार ०५:५०

सैनिक सत्ताविरुद्धको प्रदर्शनमा म्यानमारको सैन्यले वर्वर दमन गरेको छ । शनिबार सैन्य कू विरुद्ध प्रदर्शनमा उत्रेका कम्तिमा १ सय १४ जनाको ज्यान गएको छ । प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा शनिबार एकै दिन मृत्यु भएको यो अहिलेसम्मकै ठुलो संख्या हो । मारिनेमा बालबालिका समेत रहेका छन् ।

सेनाको बल प्रयोगका अहिलेसम्मकै ठूलो संख्यामा मानिस मारिएको निगरानी समूह एसिस्टेन्स एसोसिएशन फर पोलिटिकल प्रिजनर्सले जनाएको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार मृतकको संख्या यकिन हुन सकेको छैन । यो संख्या अझै बढ्न सक्ने बताइएको छ । चरा र खुकुरा झैं सेनाले मान्छे मारिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिका, बेलायत तथा युरोपेली युनियनका अधिकारीहरुले हिंसाको निन्दा गरेका छन् । बेलायतका राजदूत डान चगले विज्ञप्ति निकालेर निर्दोष नागरिकमाथि गोली चलाएर म्यानमारको सेनाले आफ्नो प्रतिष्ठा गुमाएको बताएका छन् ।

प्रदर्शनकारीमाथि गोली चल्दै गर्दा सेना दिवसको अवसरमा म्यानमारका सैनिक प्रमुख जनरत मिन आङ लाइङले प्रजातन्त्र सुरक्षित रुपमा पुनःस्थापित गर्ने प्रतिबद्धता जनाएका थिए । सोही दिन सेनाले चरम दमन गरेको हो ।

निर्वाचनमा आफू समर्थित दलको पत्तासाफ भएपछि सेनाले फेब्रुअरीमा शासन हत्याएको थियो । म्यानमारमा सेना विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म ४ सयभन्दा धेरै प्रदर्शनकारीको मृत्यु भैसकेको छ ।