२५ बैशाख २०८१, मंगलवार
Follow Us

उत्तर कोरियाप्रति अमेरिकी नीति फरक हुने संकेत

नेपालब्रिटेन संवाददाता
१७ चैत्र २०७७, मंगलवार ०४:२०

अमेरिकी राष्ट्रपति जो बाइडेन उत्तर कोरियाली नेता किम जोङ उनलाई भेट्न इच्छुक नरहेको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसकी प्रवक्ताले प्योङयाङप्रति राष्ट्रपति बाइडेनको नीति पूर्ववर्ती डोनल्ड ट्रम्पको भन्दा फरक हुने जानकारी दिएकी हुन् । बाइडेनले किमलाई भेट्न किन चाहेका छैनन् भन्नेबारे ह्वाइट हाउसले स्पष्ट पारेको छैन ।

बाइडेनले उत्तर कोरियाका लागि अमेरिकी नीतिको समीक्षा गर्ने घोषणा यसअघि नै गरिसकेका छन् । उत्तर कोरियाली पारमाणविक तथा बलिस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई लिएर दुई देशबीच लामो समयदेखि असहज सम्बन्ध रहेको छ ।

किम र उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जो बाइडेन अमेरिकी राष्ट्रपति बनेको कुरालाई अझै आत्मसात् गरेको छैन । बाइडेन प्रशासनले गत फेब्रुअरी महिनायता उत्तर कोरियाली सरकारलाई सम्पर्क गर्ने प्रयास गरिए पनि प्योङ्याङबाट कुनै जबाफ नपाएको जानकारी दिएको थियो ।

सन् २०१८ मा तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच पहिलो पटक सिङ्गापुरमा भेटवार्ता भएको थियो । सन् २०१९ मा दुई नेताबीच कोरियाली असैनिकीकृत क्षेत्रमा भेटघाट भएको थियो । त्यसपछि दुई देशबीच संवाद हुन सकेको छैन ।