१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए अमेरिकाको निर्वाचन समिति विवादमा

नेपालब्रिटेन डट कम्
२३ चैत्र २०७७, सोमबार ०७:०८

लण्डन । गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचन समिति विवादमा परेको छ । संघको आगामी मे महिनामा हुने निर्वाचनको लागि मतदाता नामावली बिना निर्वाचन कार्यतालिका सार्वजनिक भए पछि सो समिति विवादमा तानिएको हो ।
गैरआवासीय नेपाली संघ अमेरिकाको आगामी निर्वाचनमा अध्यक्षका प्रत्यासी मध्येका एक कृष्ण प्रसाद लामिछानेले निर्वाचन समितिको पछिल्लो निर्णयप्रति आपत्ति प्रकट गरेका छन् ।
लामिछानेले आइतवार एक विज्ञप्ति जारी गर्दै निर्वाचन तालिका प्रकाशित हुनुपुर्व त्यस संस्थाको कुल सदस्यता (मतदाता) संख्या निर्क्यौल हुनुपर्ने सामान्य सर्त भएको जनाएका छन् । उनले निर्वाचन समितिले जबरजस्ती रुपमा निर्वाचन तालिका अघि बढाएमा मान्य नहुने बताएका छन् ।

विज्ञप्तिको पूर्णपाठ
आदरणीय अमेरिकाबासी नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाई, ईष्टमित्र एवं आफन्तजन तथा पत्रकार मित्रहरु तपाईहरु सबैमा हार्दिक नमस्कारले अभिनन्दित गर्दछु।
बिषय:- गम्भीर ध्यानाकर्षण भएको सम्बन्धमा।

उपरोक्त सम्बन्धमा गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिका फेरी हिजोकै जस्तो समस्या र झमेलाहरुको दलदलमा फस्दै छ भन्ने गम्भीर आशंका जन्मिएको छ। जुन कुनैपनि संघ संस्थाको नयॉं नेतृत्व चयनको लागी निर्वाचन तालिका प्रकाशित हुनुपुर्व त्यस संस्थाको कुल सदस्यता (मतदाता) संख्या निर्क्यौल हुनुपर्ने सामान्य सर्त हो।
अमेरिका जस्तो प्रबिधीको बिकास भएको देशमा बस्ने हामी नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिका एक पटक होईन, पटक पटक उस्तैउस्तै अल्झनहरुमा फस्न चाहानु र खोज्नु नियत हो की ? नियती वा कसैको अनाबश्यक स्वार्थ ? यसको बारेमा चासो राख्दै अगाडी बढ्नु र संस्थाको प्रभावकारीतालाई बलियो बनाउन पारदर्शिता अपरिहार्य कुरा हो।

एकातिर बिधी र पद्धति संगत गठन भएको सदस्यता भेरिफिकेशन समितिबाट आजसम्म नामावली भेरिफिकेशन सम्बन्धी काम पुरा भएको छैन। अर्कोतर्फ त्यसबाट भेरिफाई भई आएको सदस्यताको बारेमा अन्तराष्ट्रीय समन्वय परिषद द्धारा गठित भेरिफिकेशन समितिले भेरिफाई गर्न बॉंकी नै छ। यी दुई महत्वपुर्ण कामहरु बॉंकी रहंदा रहदै पनि जबरजस्त दुष्नियतका साथ बिना मतदाता नामावली निर्वाचनको कार्य तालिका प्रकाशित गरेर निर्वाचन आयोगले हॉंस्यॉंस्पद काम गरेको छ। संयोग वा सत्य अस्तिताका केही मिडियाहरुमा आएको शंकास्पद समाचारलाई यस घटनाले पुष्टी गरिदिएको छ।

अमुक स्थानमा संस्थाको संरक्षक, प्रमुख निर्वाचन आयुक्त र आसन्न निर्वाचनको अध्यक्ष पदको एक प्रत्यासी साथै आफुलाई बौद्धिक ठान्ने ब्यक्तिहरु बिचको भेटघाटको परिणाम स्वरुप यस बिषयलाई अति चिन्ताको साथ हेरेको छु। निर्वाचनको मैदानमा होमिए पछि मतदाताहरुले मन पराएनन् त्यसबाट प्राप्त परिणामलाई सहज स्विकार्नु म जस्तो लोकतन्त्रबादीको निन्ति सामान्य कुरा नै हो। तर, प्रकृया पुरा नगरी हचुँवाको भरमा जबरजस्त गर्न खोजिएको निर्वाचनको कुनै औचित्य हुदैन।

यस्ता गलत मनासयबाट ग्रसित प्रबृत्तिहरुको बिरुद्ध लड्न कै लागी म यो निर्वाचनमा होमीएको हो। मेरो ध्येय कुनैपनि बाहनामा अध्यक्ष बन्नु किमार्थ होईन, संस्थालाई संस्थागत र पारदर्शिता बनाउनु मेरो पहिलो कर्तव्य हो। म मेरो कर्तव्य यो कर्तव्यका प्रति पुर्णत बफादार र अटल छु। म यथाशीघ्र बिधान र बिधिले निदृष्ट गरेको सबै प्रकृयाहरु पुरा गरिसकेपछि मात्र अगाडी बढ्न निर्वाचन आयोगलाई यसै मार्फत हार्दिक अनुरोध गर्दै राष्ट्रीय समन्वय परिषदको नेतृत्वलाई जिम्मेवार र समाजप्रति उत्तरदायी हुन आग्रह गर्न चाहान्छु। बॉंकी छिट्टै आउनेछु।

तपाईहरुको,
कृष्ण प्रसाद लामिछाने
गैह्र आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिका
आसन्न निर्वाचनको अध्यक्ष पदको प्रत्यासी
डालस टेक्सस

यस्तो छ निर्वाचन तालिका

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले आगामी कार्यकालको लागि निर्वाचनको मिती घोषणा गरेको छ । आगामी (२०२१( २३) को निर्वाचन मिती घोषणा गरिएको हो । सार्वजनिक तालिका अनुसार एनआरएनए अमेरिकाको निर्वाचन मे महिनाको अन्तिम अर्थात लागि मे २९ र ३० का दिन सम्पन्न हुने छ ।

अनलाईन भोटिङ मार्फत मतदाताले मत प्रदान गर्ने व्यवस्था रहेको निर्वाचनको मतगणना भोलीपल्टै अर्थात मे ३१ तारिखमा नजिता सार्वजनिक गरिने छ । संस्थाको सार्वजनिक तालिकामा उल्लेख भए अनुसार निर्वाचित कार्यसमितीको सपथ तथा पदभार ग्रहण जुलाई ३ का दिन हुने छ ।

अप्रिल ६ सम्म उम्मेदवारले आफ्नो उमेद्वारी दर्ता गरिसक्नु पर्नेछ । उम्मेदवारी दर्ता शुल्क अध्यक्ष पदका लागि २ हजार अमेरिकी डलर, बरिष्ठ उपाध्यक्ष पदका लागि १५ सय डलर, उपाध्यक्ष र महिला उपाध्यक्ष १३ सय डलर, महासचिव पद १५ सय डलर, सचिव खुल्ला तर्फ, सचिव महिला र कोषाध्यक्षका लागि १ हजार डलर, सह कोषाध्यक्ष पदका लागि ८ सय डलर, युवा संयोजक र महिला संयोजक पदका लागि ७ सय डलर र बोर्ड अफ डाईरेक्टर तथा सदस्यका लागि पनि ७ सय डलर तोकिएको छ ।

त्यस्तै, च्याप्टर र क्षेत्रका उमेद्वारका हकमा च्याप्टर अध्यक्षका लागि ५ सय, च्याप्टर उपाध्यक्ष र सचिव पदका लागि ३ सय, सह सचिव र कोषध्यक्षका लागि २ सय, महिला संयोजक, युवा संयोजक र बोर्ड सदस्य पदको उमेद्वारीका लागी एक सय अमेरिकी डलर उम्मेदवारी शुल्क तोकिएको छ ।