६ कार्तिक २०८२, बिहीबार
Follow Us

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा १२ वर्षकै ठूलो गिरावट

नेपालब्रिटेन संवाददाता
६ कार्तिक २०८२, बिहीबार ०६:४१

काठमाडौं । अन्तर्राष्ट्रिय सुन बजारमा मंगलबार अप्रत्याशित रूपमा १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट आएको छ, जसले लगानीकर्ताहरूमाझ छटपटी बढाएको छ । तिहारको मध्यमा नेपाली बजारमा सुनको माग उच्च हुने अपेक्षा गरिएका बेला आएको यो ६ प्रतिशतभन्दा बढीको मूल्य गिरावटले उपभोक्ता र व्यवसायी दुवैलाई चकित पारेको छ।

सोमबार एक ट्रय औंस (करिब ३२ ग्राम) सुनको मूल्य ४,३८१ डलरसम्म पुगेर नयाँ कीर्तिमान कायम गरेको थियो। तर मंगलबार ‘द फाइनान्सियल टाइम्स’ का अनुसार यो मूल्य ६.३ प्रतिशतले घटेर ४,०८२ डलरमा झरेको छ। सन् २०१३ अप्रिलपछि एकै दिनमा आएको यो सबैभन्दा ठूलो गिरावट हो। यसले विश्वव्यापी सुन बजारमा नयाँ तरंग सिर्जना गरेको छ।

‘ढिलो आएको तर आवश्यक सुधार’: विश्लेषकको भनाइ
एमकेएस पाम्पकी विश्लेषक निकी शिल्सलले यो गिरावटलाई ‘ढिलो आएको तर आवश्यक सुधार’ का रूपमा व्याख्या गरेकी छन्। उनका अनुसार, “अत्यधिक खरिदका कारण सुनको मूल्य पाउरोटीझैं फुलेको थियो।” यो गिरावटले मूल्य वृद्धिको यो क्रम अन्त्यतिर पुगेको संकेत दिएको उनले बताएकी छन्। विगत दुई महिनामा २५ प्रतिशतसम्म मूल्य बढेको थियो, जसमा ६ सातामै १,००० डलरको वृद्धि भएको थियो, जसले सुनको मूल्य कति उच्च बिन्दुमा पुगेको थियो भन्ने स्पष्ट पार्छ।

चाँदी र प्लेटिनममा पनि गिरावट
सुनसँगै चाँदी र प्लेटिनमको मूल्यमा पनि क्रमशः ७.४ प्रतिशत र ५ प्रतिशतको ठूलो गिरावट आएको छ, जसले बहुमूल्य धातु बजारमा समग्र मन्दीको संकेत गरेको छ।

के कारणले भयो यस्तो गिरावट ?
हालैका महिनाहरूमा सरकारी ऋणको वृद्धि, अमेरिकी डलरको कमजोर अवस्था, डोनाल्ड ट्रम्पको व्यापार युद्ध, र विश्वका केन्द्रीय बैंकहरूले डलरको विकल्पका रूपमा सुन खरिद गर्नु जस्ता कारणले लगानीकर्ताहरू सुरक्षित सम्पत्तिको रूपमा सुनमा आकर्षित भएका थिए। सेप्टेम्बरमा मात्रै सुनमा आधारित एक्सचेन्ज–ट्रेडेड फन्डहरूमा २६ अर्ब डलरको नयाँ लगानी भएको थियो। जापानदेखि अस्ट्रेलियासम्मका खुद्रा ग्राहकहरू पनि सुन किन्न झुम्मिएका थिए।

तर, पछिल्लो समय अमेरिका–चीनबीच व्यापार तनाव घटेको संकेत, र अमेरिकी डलरमा पुनरूत्थानका संकेतहरू देखिनुले मंगलबारको मूल्य घटाउनमा भूमिका खेलेको विश्लेषकहरूले बताएका छन्।

दीर्घकालमा अझै सम्भावना ?
स्ट्यान्डर्ड चार्टर्डकी विश्लेषक सुकी कूपरले अहिलेको गिरावटलाई ‘प्राविधिक सुधार’ भनेकी छन्। उनको भनाइअनुसार, दीर्घकालमा सुनमा अझै मूल्य वृद्धि हुने सम्भावना छ। “पछिल्ला दुई महिनामा सुनमा लगानी गर्ने मानिसहरूको संख्या तीव्र रूपमा बढेको छ,” उनले भनिन्, “अब उनीहरूको उत्साह र सहनशीलता कति बलियो छ भन्ने परीक्षण भइरहेको छ।”

तिहारको मुखैमा आएको यो गिरावटले सुनको चमकमा केही धुमिलता ल्याए पनि, यसले बजारलाई सामान्यीकरण गर्ने र नयाँ लगानीका अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ। आगामी दिनहरूमा सुन बजारले कुन दिशा लिन्छ, त्यो भने हेर्न बाँकी नै छ।

धेरै पढिएको