८ जेष्ठ २०८१, मंगलवार
Follow Us

कांग्रेस नेतृत्वको सरकारमा जसपा जाने सम्भावना ‘क्षीण’

नेपालब्रिटेन संवाददाता
२८ चैत्र २०७७, शनिबार ११:०१

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल थालेको छ । शुक्रबार कांग्रेसले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) लाई बोलाएर आफ्नो नेतृत्वमा सरकार गठनका लागि प्रस्ताव गरेका छन् । सो प्रस्तावबारे जसपाले कुनै प्रतिक्रिया दिएको छैन । जसपाले आफ्नो पार्टीमा छलफल गरेर जवाफ दिने बताइसकेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने जसपा निकै अघि बढिसकेको पाइएको छ ।

कांग्रेसले बोलाएको तीन दलको बैठकमा जानुअघि बुढानिलकण्ठमै रहेको एक होटलमा बसेर जसपाका शीर्ष नेताहरुबीच छलफल गरे । अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीसँग संवाद निकै अघि बढिसकेको जानकारी गराए ।

नयाँ सरकार गठन गर्ने, आफूहरुले उठाउँदै आएको मुद्दालाई सम्बोधन गर्ने विषयमा कांग्रेस र माओवादीले तत्परता नदेखाएपछि ओलीसँग संवाद अघि बढाएको ठाकुरको भनाइ थियो । सो बैठकमा सहभागी एक नेताका अनुसार, ओलीसँगको संवादले प्रक्रियागत काम अघि बढिरहेको जानकारी ठाकुरले शीर्ष नेताहरुलाई गराएका थिए ।

सो बैठकमा कांग्रेसको प्रस्तावबारे पछि जवाफ दिने गरी देउवा निवास पुगेका थिए । बैठकमा जसपाले पार्टीमा छलफल गरेर जानकारी गराउने बताएका थिए । ओलीसँगको निरन्तर वार्ता प्रक्रिया निकै अघि बढेका कारण जसपाले कांग्रेसले बोलाएको बैठकमा पनि सोही विषय राखेका थिए । जसपाले दुई दिनअघि बन्दी कार्यकर्ताको रिहाइका लागि सरकारलाई २०८ जनाको फाइल पठाइसकेका छन् ।

आफूहरू अहिले पार्टीको मूल मुद्दामा केन्द्रित भएको भन्दै जसपाका नेता राजेन्द्र महतोले भने, ‘सत्ताको कुरा जसपाको प्राथमिकताको विषय हैन। सत्ता समीकरण पनि प्राथमिकताको विषय हैन ।’

उनले विगत पाँच वर्षदेखि प्रचण्डओली नै सत्तामा बसेको र कसैले पनि आफ्ना माग पूरा नगरेको बताए । उनले भने, ‘अहिले आएर सरकारको धारणा परिवर्तन भएर होला कि उसको मजबुरीले होला। उदारपूर्वक काम गरिरहेको छ।’ तर, मुद्दा सम्बोधन भए पनि प्राथमिकता सरकार र समीकरणका लागि नभएको उनको भनाई छ ।

उनले भने, ‘हाम्रो पार्टीले केपी ओलीलाई होस् वा वैकल्पिक सरकारलाई होस्। आफ्नै नेतृत्वमा अर्को सरकार निर्माण गर्ने कि सहयोग समर्थन गर्ने कुनै निर्णय गरेको छैन।’ समीकरण र सरकारको बारेमा उपयुक्त समयमा निर्णय लिइने उनको भनाई छ ।

स्रोतका अनुसार, ओलीसँग ठाकुरको दैनिकजसो भेटघाट र छलफल चलिरहेको छ । ठाकुरले संविधान संशोधनदेखि राजबन्दी छुटाउने विषयमा परामर्श गरिरहेका छन् । कांग्रेस र माओवादी केन्द्रसँग मिलेरभन्दा एमालेसँग मिलेर आफ्नो मुद्दालाई सम्बोधन गराउन सहज हुने मनस्थितिमा ठाकुर देखिएका छन् । कांग्रेस र माओवादीको सरकार बन्ने वा नबन्ने टुंगो नभएकाले पनि ठाकुर ओलीसँग बढी विश्वस्त देखिएका हुन् ।

भूमिगत अवस्थामा रहेका सीके राउत र नेत्रविक्रम चन्द विप्लवलाई समेत वार्ताबाट शान्ति प्रक्रियामा ल्याइसकेकाले पनि ठाकुर लगायतका पूर्वराजपाका नेताहरु ओलीप्रति विश्वस्त छन् ।

जसपाकै नेताहरु उपेन्द्र महतो, बाबुराम भट्टराईहरु भने ओलीले आफ्ना माग सम्बोधन गर्न नसक्ने र प्रतिगामी भएकाले मिल्न नहुने तर्क गरिरहेका छन् । ठाकुरहरुले भने आफूहरुले मधेसका जनतासँग गरेको बाचा पूरा गराउने उपयुक्त समय भएकाले ओलीलाई साथ दिएर आफ्ना माग पूरा गराउनुपर्छ भन्ने पक्षमा देखिएका छन् ।