१५ बैशाख २०८१, शनिबार
Follow Us

नेपाललाई सहयोग गर्न अमेरिकी राष्ट्रपतिलाई खुल्ला पत्र

नेपालब्रिटेन डट कम्
२४ बैशाख २०७८, शुक्रबार ०६:३०

लण्डन। नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट एच डेलेसी सहित अमेरिकामा रहेका ६ संस्थाका अध्यक्षहरुले कोरोना महामारीमा नेपाललाई सहयोग गर्न अमेरिकी राष्ट्रपति जो वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई खुल्ला पत्र पठाएका छन्।

संयुक्तरुपमा हस्ताक्षर गरी उनीहरुले सोही व्यहोराको पत्र अमेरिकी विदेश मन्त्रालय, सिनेटको वैदेशिक सम्बन्ध समिति र दक्षिण एसिया उपसमितिलाई पनि पठाएका छन्।

पत्रमा उनीहरुले नेपालमा हाल देखिएको कोभिड महामारीमा अमेरिकी सरकारको तर्फबाट तत्काल बिशेष सहयोग गरिदिन अनुरोध गरिएको छ। यी पत्रहरु विदेश मन्त्रालय, सिनेट कमिटी र उपसमितिसंग कुराकानी भएर औपचारिकरुपमा लेखिएको बताइएको छ।

अहिले नेपाल संसारमै सवैभन्दा छिटो कोभिड फैलने देशहरुमा पर्दछ। हाल नेपालको पोजिटिभ हुने दर ४५ प्रतिशत रहेको छ। देशभरिमा २,००० भन्दा कममात्र संख्यामा आइसीयुहरु रहेका छन्। हालसम्म एक प्रतिशत जनताले मात्र दुवै डोज भ्याकसिन लगाएका छन्।

१७ लाख व्यक्तिहरुले पहिलो डोज त लगाए तर दोश्रो डोज समयभित्र नपाउँदा पहिलो डोजसमेत डिफल्ट हुने अवस्थामा रहेको छ।

नेपालका हरेक विपदमा सहयोगी बन्दै आएको अमेरिकी सरकारका यस मामिलामा सहयोग पुर्याउन सक्ने मन्त्रालय, सिनेट तथा उप कमिटीका प्रमुखहरुलाई पत्राचार गरिएको हो। अमेरिकी सरकार तथा नेपालका निम्ति कार्यरत गैरसरकारी संस्थाहरु सँगको छलफलपछि उक्त पत्राचार गरिएको हो।

यस्तो अवस्थामा अमेरिकामा रहेका लगभग तीनलाख पचासहजार नेपालीहरुका परिवार आफन्तहरु नेपालमा निकै दयनीय अवस्थामा छन र सिङ्गो मुलुक अन्योलमा छ।

यिनै कुराहरुलाई उल्लेख गर्दै नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलेसी सहित अमेरिकामा कार्यरत संस्थाहरू अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष डा भुपेश खड्का, नेपाल राइजिङ्ग की अध्यक्ष डा। आरती मलेकु, ए।एन।ए। अध्यक्ष विजयराज भट्टराई, एन।आर। एन। अमेरिकाका अध्यक्ष सुनील साह, नेपाली महिला ग्लोबल नेटवर्ककी अध्यक्ष अभिमा उप्रेती सहितले सो पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण क्रमशः नियन्त्रण बाहिर गएको छ। राजधानीलगायत देशभरिका ठूला शहर र घना बस्तीहरुमा कोरोना संक्रमण तीव्र फैलिएको छ।

ठूला शहरका अस्पतालहरु संक्रमितहरुले भरिएका छन् । अस्पतालहरुमा अस्थायी स्थानहरु निर्माण गरिएको छ। तोकिएका बेडहरु भरिएपछि संक्रमितहरुलाई ग्यालरी, इमर्जेन्सी वार्डमै राखेर उपचार गर्न थालिएको छ। अक्सिजन सपोर्टमा राखेका बिरामीहरुको संख्या बढ्दो छ। आवश्यकताअनुसार अक्सिजनको सप्लाई नपुगेर मृत्युदर बढेको छ।