काठमाडौ । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारका सहभागी तीन मन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएको छ । दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले मन्त्रीत्रय अम्मर बहादुर थापा, कुर्म राज शाही र नन्दसिंह बुढालाई राजीनामा दिएर प्रतिपक्षी भूमिकामा बस्न निर्देशन दिएको हो ।
सरकारमा थापा भौतिक पूर्वाधार तथा शहरी विकास, शाही भूमि व्यवस्था, कृषि तथा सहकारी र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । पार्टी ह्विप विपरीत फलोर क्रस गरेका नेता प्रकाश ज्वालासहित शुक्रबार बसेको दलको बैठकले तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको हो ।
यता भौतिक पूर्वाधार मन्त्री थापाले भने सर्वोच्च अदालतले नै दसौं महाधिवेशन आयोजक समितिलाई मान्यता नदिएको अवस्थामा केपी ओलीलाई आफूहरुलाई कारबाही र फिर्ताको निर्देशन दिने अधिकार नरहेको बताएका छन् । नवौं महाधिवेशनबाट निर्वाचित भई कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारीमा रहेका उपाध्यक्ष युवराज ज्ञावलीको निर्देशन भएमा मात्र सरकारबाट बाहिरिने उनको भनाइ छ ।