संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा भएको हत्या प्रकरणमा प्रहरीले हत्यारा चिनेजानेकै व्यक्ति भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार परिवारका एक सदस्यको हत्यापछि आफ्नो पहिचान खुल्ने डरले अरु सदस्यको पनि हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीका अनुसार घटनामा संलग्न व्यक्ति चिनजानकै भएका कारण ५२ वर्षीय तेजबहादुर कार्कीको हत्यापछि परिवारका अन्य प्रत्यक्षदर्शीको पनि हत्या भएको हुनसक्ने अनुमान गरिएको हो ।
घटनास्थलको सुक्ष्म अनुसन्धानपछि प्रहरीले यस्तो निष्कर्ष निकालेको हो । शव फेला परेको ‘स्थान ’, शवको प्रकृतिलगायतका विषयलाई केन्द्रमा राख्दै प्रहरीले ‘क्राइम सिन’ का आधारमा ‘एक जनाको मात्र हत्या गर्ने उद्देश्य भए पनि परिवारका अन्य सदस्यले देखेपछि पहिचान खुल्ने डरले हत्याराले ६ जनाकै हत्या गरेको हुनसक्ने’ निष्कर्ष निकालेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।