काठमाडौं । नेपालको चारदिने भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारको टोली आज अमेरिका फर्किंदै छ । गत बिहीबार नेपाल आएको सुमारको टोलीले नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गरेको थियो ।
टोलीले नेपाल सरकारलाई एमसीसी सहयोग चाहिने वा नचाहिने भन्ने विषयमा टुंगो लगाउन आग्रह गरेको छ । सरकारले भने राजनीतिक सहमति जुटाएर सम्झौतालाई कार्यान्वयनमा लैजाने आश्वासन दिएको छ । सत्तारुढ दलभित्रै एसीसीबारे तीव्र मतभेद रहेकाले अमेरिकी टोलीको यो भ्रमण उपलब्धिबिहिन सावित भएको छ ।