उच्चस्तरीय समिति भंग गरिदिने पन्तको चेतावनी
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद मिलाउन भनेर गठित सात सदस्यिय उच्चस्तरीय समितिको आइतवार बसेको बैठक भनाभन र आरोपप्रत्यारोपमै सकिएको छ ।
आइतवार बसेको बैठकमा समितिका संयोजक शेष घलेले संस्थापक डा उपेन्द्र महतोलाई ‘तपाई तथाकथित संस्थापक अध्यक्ष (यु आर सो कल्ड फाउन्डर प्रेसिडेन्ट)’ भन्ने आरोप लगाएपछि बैठकमा तनाव सृजना भएको नेपालप्लस अनलाइनले जनाएको छ ।
समितिको बैठक बस्नासाथ एनआरएनए जापानको समिति भंग गर्ने, प्रतिनिधि छनौट गर्ने विषयमा छफलफल शुरु भएको थियो ।
छलफलका क्रममा एनआरएनए जापानको विवादमा मिलाउन देवमान हिराचनलाई दिएको, निर्वाचन गर्ने सम्मको अधिकार दिएको प्रसंग उठ्यो । त्यसमा उच्चस्तरीय समितिलाई जिम्मेवारी नदिएको प्रसंग उठाइयो ।
त्यसपछि संयोजक शेष घलेले ‘म्याइन्युट भएको थियो कसले गर्ने भनेर’ भन्ने तर्क राखे ।
त्यसपछि डा उपेन्द्र महतोले ‘त्यो उच्चस्तरीय समितिले गर्न सक्दैन, बैठकमा उच्चस्तरी गर्ने भनिएको थिएन’ डा उपेन्द्र महतोले बैठकमा भने ।
‘आइसिसीको अधिकार कटौति गरेर अर्को समितिलाई दिन मिल्दैन, त्यो निर्णय हाम्रो बैठकमा भएको छैन र माईन्युटपनि भएको छैन’ भनेर उपेन्द्रले थप बताए ।
त्यसपछि शेष घले जंघिए ‘तपाईले मात्रै भनेर हुन्छ ?” ।
शेष घलेलाई जवाफ दिँदै डा उपेन्द्र महतोले भने ‘तपाईले मात्रै भनेर हुँदैन । अरु साथीहरुको कुरा पनि सुन्नुपर्छ’।
त्यसपछि घले झनै उत्तेजित भए र डा उपेन्द्र महतोलाई ‘तपाई तथाकथित संस्थापक अध्यक्ष (यु आर सो कल्ड फाउन्डर प्रेसिडेन्ट)’ भने । त्यसो भनेपछि माहोल झनै बिग्रियो ।
‘तपाईको मनमा जे आयो त्यहि भनेर हुँदैन’ भन्ने भनाईमा रामप्रताप थापा, कुमार पन्त, भवन भट्ट, जीवा लामिछाने र उपेन्द्र महतो उभिए । शेष घले एक्लिए ।
बैठकमा अस्वभाविक रुपमा प्रस्तुत भएका शेष घले सबैसित रिसाएका थिए ।
उच्चस्तरीय समितिको बैठकमा ‘जापानको चुनाव कुनैपनि समिति, उच्चस्तरीय लगायतका कुनैपनि समितिले गर्नै पाउँदैन । किनभने त्यो उनीहरुको क्षेत्राधिकार भित्रको कुरै होइन, त्यो उनीहरुलाई अधिकार दिएकै छैन’ भन्ने तर्क उठ्यो ।
बैठकमा अध्यक्ष कुमार पन्तले यो उच्चस्तरीय समितिले काम गर्न नसकेको, विवाद समाधान गर्न नसकेको, झैझगडा र विवाद गरेर समय बिताउने गरेकाले समितिनै भंग गरिदिने बताएका थिए ।
त्यसपछि संयोजक शेष घले ‘कसरी गर्नसक्नुहुन्छ भंग ?’ भनेर कड्किए ।
त्यसको प्रतिउत्तरमा पन्तले ‘चिठी लेखेर, आइसिसीको बैठक डाकेर जसरी पनि भंग गर्न सक्छु, जसरी पनि हटाउन सक्छु’ भन्ने जवाफ फर्काए ।
फेरि शेष घलेले ‘ल आइसिसीको बैठकबाट भंग गरेर देखाउनुस्’ भन्दै जंघिए ।
स्रोतका अनुसार शेष घलेले डा उपेन्द्र महतोलाई ‘यो एनआरएनए बिगार्ने तपाईहरु हो’ भन्ने आरोपसम्म लगाएका थिए ।
सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेश राणाले पत्राचार गरेको २४ घण्टाभित्रमा अर्को बैठक बस्ने निधो भएको छ ।
तर शेष घलेले आगामी बैठक तीन दिनमा बस्ने प्रस्ताव गरेका थिए । समितिका अधिकांश सदस्यले त्यसमा अस्विकार गरेर २४ घण्टाको समयसिमा तोकेका हुन् ।
स्रोतका अनुसार शेष घलेले तीन दिन लम्ब्याएर बुधवार हुने पाटन उच्च अदालतको पेशीसम्म उच्चस्तरीय समितिको बैठक लम्ब्याउन चाहेका थिए ।
स्रोतका अनुसार अध्यक्ष कुमार पन्त कुनैपनि हालतमा आइसिसीको क्षेत्राधिकारबाट बाहिर नजाने पक्षमा उभिएका छन् ।
प्रतिनिधिको सूची निर्वाचन समितिलाई गैसकेकाले उच्चस्तरीय समितिको निर्णयले अब खासै सरोकार राख्ने स्थिति पनि छैन । अध्यक्ष कुमार पन्तले दिएको सूचीकै आधारमा अब निर्वाचन प्रक्रिया अगाडि बढउने तयारी गरिएको छ ।