खेल

नवौं राष्ट्रिय खेलकुद : सुदूरपश्चिमलाई हराउँदै एनआरएनएको विजयी सुरुवात

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको उद्घाटन खेलमा गैर आवासीय नेपाली (एनआरएनए) ले विजयी सुरुवात गरेको छ । एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई १२ रनले पराजित गरेको हो ।

वर्षाका कारण ६ ओभरमा घटाइएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको एनआरएनएले निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ७४ रन बनायो । टियु क्रिकेट मैदानमा ४ वर्षपछि फर्किएका सागर पुन १९ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४६ रनमा अविजित रहे । सागरले २०१८ पछि पहिलो पटक घरेलु क्रिकेट खेलेका हुन् ।

कप्तान सुनाम गौतमले ११ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा आउट भए । सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले दुई दुई विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ६ ओभरमा ६ विकेट गुमाउँदै ६२ रन जोड्यो । ओपनर खडक बोहोराले १२, राजु रिजालले ११ तथा वसन्त खत्रीले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आक्रामक सट खेल्ने धुनमा लगातार विकेट गुमाएपछि सुदूरपश्चिम पराजित भएको थियो । एनआरएनएका लागि आशिष पोखरेल र दीपक क्षेत्रीले ३-३ विकेट लिए ।

सुदूरपश्चिमको प्लेइङ ११ :

राजु रिजाल (कप्तान), खड्क बोहरा, नारायण जोशी, हेमन्त धामी, शेर मल्ल, बसन्त कार्की, अनिल थापा, लोकेन्द्र चन्द्र, भोजराज भट्ट, वसन्त खत्री र नरेन्द्र साउद ।

एनआरएनएको प्लेइङ ११ :

सुनाम गौतम, गम बहादुर गुरुङ, दीनेश खरेल, आशिष पोखरेल, सुनिल श्रेष्ठ, सागर पुन, बासु गिरी, दीपक क्षेत्री, रासिम कंडेल, दिवास गिरी, दीनेश श्रेष्ठ (विकेटकिपर)

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्