२४ भाद्र २०८२, मंगलवार
Follow Us

‘के महिला वंशज हुन सक्दैन ?’

नेपालब्रिटेन संवाददाता
२३ फाल्गुन २०७९, मंगलवार १३:४४

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले नागरिकता विधेयक छिट्टै टुंगोमा पुर्याउनु पर्नेमा जोड दिइन । ‘आमाको नामबाट नागरिकता दिने व्यवस्था हुनुपर्छ। यो संवेदनशील विषय छिट्टै टुंग्याउनु पर्छ। के महिला वंशज हुन सक्दैन ?,’ उनले प्रश्न गरिन्।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा मंगलबार महिला कानुन विकास मन्च (एफडब्ल्युएलडी) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष अर्यालले निर्वाचनमा समानुपातिक प्रणाली हटाइनुपर्ने पनि बताइन्। सांसदहरूको प्रदेश तथा संघीय निर्वाचनमा महिलाहरूको उम्मेदवारी ५० प्रतिशत हुनुपर्ने बताएकी छन्।

सरकारमा अस्थिरता देखिएका कारण कतिपय महत्वपूर्ण काममा ढिलाई भइरहेको उनको भनाई थियो। अर्यालले लैंगिक हिंसाविरूद्ध लड्न महिलामा दरो हिम्मत हुनुपर्ने तर्क गरिन्। ‘हिम्मत भयो भने कसैले हेप्न सक्दैन। लड्न बल होइन हिम्मत चाहिन्छ,’ उनको भनाइ थियो । पछिल्लो समय पुरूषबाट महिला मात्रै पीडित नभएर महिलाबाट पुरूषहरू पनि पिडित हुनेक्रम बढेको बताउँदै लैंगिक समानतामा सबैले ध्यान पुर्याउनुपर्ने बताइन्।

एफडब्लुएलडीले प्रविधिको प्रयोगले हुने यौनिक तथा लैंगिक हिंसाको प्रतिरोध विषयक कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा विद्यार्थीहरूले कविता वाचन तथा सचेतनामुलक नाटक प्रस्तुत गरेका थिए। एफडब्लुएलडीले पनि सचेतनामुलक नाटक तथा वृतचित्र प्रस्तुत गरेको थियो।

प्रविधिको दुरूपयोगले यौनिक तथा लैंगिक हिंसाका घटना दिनानु दिन बढ्दै गएको पाइएकाले सचेत हुनुपर्ने सरोकारवालाहरूले जोड दिएका छन्। यसमा बालबालिका तथा महिला जोखिममा रहेका कारण अझ संवेदनशील हुनुपर्ने उनीहरूको जोड छ। संयुक्त राष्ट संघ (युनिसेफ) को एक अध्ययनले ७१ प्रतिशत बालबालिका सामाजिक सञ्जालको जोखिममा रहेको देखाएको कार्यक्रम प्रस्तुता आरती चटौतले जानकारी दिइन् ।

धेरै पढिएको