२२ भाद्र २०८२, आईतवार
Follow Us

एनआरएनए बेल्जियमको महासचिवमा २५ वर्षिया रुविनाको उम्मेदवारी

नेपालब्रिटेन संवाददाता
६ असार २०८०, बुधबार ०७:४१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको महासचिवमा रुविना शर्माले उम्मेदवारी दिने भएकी छन् । २५ वर्षिया शर्मा एनआरएनए बेल्जियमकी कार्यसमिति सदस्य हुन् ।

उनीसँग यसअघि सांग्रीला समाज बेल्जियम, लुम्बिनी कपिलबस्तु ग्लोवल अभियानलगायतका काम गरेको अनुभव रहेको छ ।

रुविनाले गैरआवासीय नेपाली अभियानमा युवाहरुको बढ्दो मागका कारण यो अभियानमा आफूले उम्मेदवारी अघि सारेको बताउँछिन्। उनी हाल बेल्जियमको इन्टरकल्चार फेडेरेशनमा कार्यरत रहेकी छन् । सो फेडेरशनको सदस्य एनआरएनए बेल्जियम समेत छ । उनले सोही फेडेरेशन मार्फत नेपाली संघसंस्थाहरुलाई सहयोग गर्दै आएकी छन् ।

उनले ठूला साना प्रोजेक्टको लागि प्रपोजल लेखेर स्थानिय निकायबाट नेपाल फेस्टिवल, तीजलगायतका नेपाली चाडपर्वहरुमा आर्थिक सहयोग संकलन गर्ने गरेको बताउँछिन् । उनले नेपाली नयाँ पुस्तालाई नेपालको भाषा र संस्कृतिसँग जोड्ने उद्देश्यले हरेक आइतबार बेल्जियमा नेपाली भाषा कक्षा संचालन गर्दै आएकी छन् । उनले समाजिक रुपान्तरणको लागि युवापुस्ता गैरआवासीय नेपाली संघको जस्तो संस्थाको नेतृत्वमा पुग्नु पर्ने बताउँछिन् ।

उनले भनिन् ‘युवा सधै आरक्षण पदमा मात्र बसेको देखिएको छ । कारणले हामी युवाहरुका आफ्नै गुनाशाहरु छन्, तिनलाई पूर्ण गर्नका लागि पनि आज मैले एउटा मुख्य पदमा बस्नै पर्छ। अहिले कसैले हिम्मत गरेको छैन, कसैले कहिले त सुरुवात गर्ने पर्छ र परिवर्तन म आफैबाट हुनु पर्दछ।’

उनले महिला तथा युवाको लागि आफूसँग स्पष्ट भिजन भएको बताउँछिन् । उनीहरुले युवाहरुलाई सो अभियानमा जोड्नको लागि छुट्टै बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाइन् । उनले कार्यसमितिका सदस्यहरुको गतिविधिलाई अभिलेखमा राखेर उनीहरुको सकृयता मापन गर्न सकिने बताइन् । उनले आफू महासचिवमा निर्वाचित भए एनआरएनएभित्र रहेको मतदाता बनाउने प्रचालनलाई हटाएर साधारण सदस्य बन्ने अवधारणा ल्याउने बताइन् ।

उनले संस्थालाई प्रविधिमैत्री बनाएर अघि बढाउने बताइन् । उनले संघका सदस्यबाट प्राप्त आर्थिक सहयोगलाई नेपाली भाषा, संस्कृति, पर्यटन आदिको लागि खर्च गर्न सकिने तर्क गर्छिन् । उनले रिपोट राइटिङ, प्रपोजल लेखनलगायतका विषयमा दखल राख्छिन् । उनले स्थानीय नेपाली संघसंस्थालाई परिचालन गर्ने र उनीहरुलाई विषेश कदर प्रदान गर्ने बताइन् ।

उनले संघको बैठकमा संघसंस्थाहरुलाई समेत आमन्त्रण गरेर सुझाव संकलन गर्दा उनीहरुले अपनात्व प्राप्त गर्ने बताइन् । उनले गैरआवासीय नेपाली संघका साधारण सदस्यलाई नेपालमा लगानी, नागरिकताको निरन्तरता र युवा पुस्ताको व्यवसायमा लगानी विषयमा प्रविधिको प्रयोगबाट अभिमुखिकरण तालिम दिन सक्ने बताइन् ।

म्याग्दी घर भएकी शर्माले बेल्जियममा वायोटेक्नोलोजिमा व्याचलर डिग्री गर्दै आएकी छन् ।

धेरै पढिएको