इनरुवा (सुनसरी) । सुनसरीको हरिनगर बजार तनावग्रस्त बनेकाे छ । हरिनगर गाउँपालिका वडा-४ स्थित गाउँपालिकाको कार्यालय रहेको बजार क्षेत्र मध्याह्नदेखि तनावग्रस्त बनेकाे हाे ।
अहिलेसम्म प्रहरीले ८० राउन्ड हवाई फायर गरेको र ४० सेल अश्रु ग्यास प्रहार गरेको सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जानकारी दिए । प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएको र दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ ।
बिहीबार एक युवक कुटिएपछि सुरू भएको विवादले शुक्रबार बिहानैदेखि हरिनगर बजारमा दुई समूहबीच झडपको स्थिति देखिएको थियो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ । कामू प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी भएको जनाइएको छ ।
कार्यालयले जारी गरेको सूचनामा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना नभएसम्मका कर्फ्यू आदेश जारी गरिएको उल्लेख छ ।
यहाँका स्थानीय समुदायका दुई पक्षबीच झडप भइ तनावपूर्ण स्थिती सृजना भएपछि शान्ति सुरक्षा कायम गर्ने हेतुले सो सूचना जारी गरिएको बताइएको छ ।
निषेधित स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्याली, भेला जम्मा, प्रदर्शन लगायतका कुनै पनि कार्यक्रम नगर्न र नगराउन प्रशानले जारी गरेको कर्फ्यू आदेशमा उल्लेख छ ।