काठमाडौं । बाढीपहिरोले जनजीवन नराम्ररी प्रभावित भएको एक साताभन्दा बढी समयपछि मात्र मन्त्रीहरु प्रभावित क्षेत्रको अनुगमनमा निस्किएका छन् ।
गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राई बाढीपहिरोले बितण्डा मच्चाएको १० दिनपछि मात्र प्रभावित क्षेत्र पुगे ।
उनीहरुको काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र सिन्धुपाल्चोक जिल्लाका बाढीप्रभावित क्षेत्रको मंगलबार अवलोकन गरेका थिए । मन्त्रीहरु काभ्रेको मंगलटार, सिन्धुलीको खुर्कोट, सिन्धुपाल्चोकको चौतारा र ललितपुरको गोटीखेलका लागि प्रस्थान गरेको गृह मन्त्रालयले जनाएको छ ।
उनीहरुले प्रभावित क्षेत्रमा भएका उद्धार राहत सहयोग तथा पुनःनिर्माणको अवस्थाबारे जानकारी लिने गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए ।
बाढीपहिरोका कारण हालसम्म मृत्यु हुनेको संख्या २ सय ४६ पुगेको छ । १८ जना बेपत्ता छन् । १ सय ७८ जना घाइते भए । ३० जनाको अझै विभिन्न अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।