२१ आश्विन २०८२, मंगलवार
Follow Us

पिटरबरोका नेपालीले मनाए दशैं

नेपालब्रिटेन संवाददाता
१८ आश्विन २०८२, शनिबार १२:२९

वि.सं. २०८२ को दशैं–तिहार शुभकामना साँझ स्थानीय २०२० वर्ल्ड बुफे रेष्टुरेन्टमा भव्य रूपमा सम्पन्न भएको छ। यसपटकको शुभकामना साँझ विभिन्न नयाँ आकर्षणसहित प्रमुख अतिथि नगर प्रमुख (मेयर) काउन्सिलर जुडी फक्स, विशेष अतिथि काउन्सिलर जोन फक्स, पूर्व नगर प्रमुख काउन्सिलर गुल नवाज र नेपालबाट आउनुभएका प्रसिद्ध गुरु ओशो अखण्डको आतिथ्यमा आयोजित भव्य कार्यक्रम अध्यक्ष विष्णु थापाको अध्यक्षतामा सम्पन्न गरिएको थियो।

समाजको कार्यसमितिले यस वर्षदेखि समाजलाई विभिन्न माध्यमबाट उल्लेखनीय योगदान पुर्‍याउनुहुने उत्कृष्ट चार व्यक्तित्वलाई सम्मानपत्रसहित पुरस्कृत गरेको थियो। सम्मानित व्यक्तिहरूमा समाजका पूर्व अध्यक्ष तथा ट्रष्टी महेश अधिकारी, ट्रष्टी इञ्जिनियर घनश्याम पौडेल, ट्रष्टी डा. राजु सापकोटा र सफ्टवेयर इञ्जिनियर अश्मित खड्का रहेका थिए। प्रमुख अतिथि नगर प्रमुख जुडी फक्स र समाजका अध्यक्ष विष्णु थापाले सम्मानपत्र प्रदान गर्नुभएको थियो।

कार्यक्रमका सहभागी पाहुनाहरू र पिटरबरोवासीहरूलाई समाजको विगत, वर्तमान तथा भविष्यका योजनाको संक्षिप्त विवरण शक्ति बिन्दु प्रस्तुति (पावरप्वाइन्ट प्रेजेन्टेशन) मार्फत ट्रष्टी डा. राजु सापकोटाले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य तथा शुभकामना सन्देश ट्रष्टी महेश अधिकारीले दिनुभएको थियो भने औपचारिक तथा सांस्कृतिक कार्यक्रमको सञ्चालन सचिव देवी गौतमले गर्नुभएको थियो।

शुभकामना साँझमा प्रस्तुत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरूले वातावरणलाई अत्यन्तै रोचक बनाएका थिए। समाजका नवयुवा तथा युवतीहरूले नेपाली कला, संस्कृति, भाषा र भेषभूषा झल्काउने विविध नृत्य प्रदर्शन गरी कार्यक्रमको भव्यता बढाएका थिए। प्रसिद्ध गजलकार नृपेश उप्रेतीले गजल वाचन गर्नुभएको थियो भने स्थानीय गायक सुमेर ज्ञवाली, भक्त विश्व र बालगायक आयोदिप गौतमले गीत प्रस्तुत गरी उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए।

नेपालबाट आएका राष्ट्रिय कलाकार लोकगायक सन्दीप न्यौपाने, नृत्याङ्गना अस्मिता पुरी, मोडल कुशुम शर्मा (शाकम्भरी) र विश्व अधिकारीले पाँच घण्टासम्म भरिएको हलमा उपस्थित पिटरबरोवासीहरूलाई नचाएका थिए।

कार्यक्रमको अन्त्यमा अध्यक्ष विष्णु थापाले शुभकामना साँझलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सफल भएकोमा सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो। उहाँले प्रमुख अतिथि नगर प्रमुख जुडी फक्सप्रति विशेष आभार प्रकट गर्दै **पिटरबरो समाजले सिटी परिषद् (नगर परिषद्)**बाट प्राप्त गरेको हल (९९ वर्षको लिजमा) तथा उक्त हलको मर्मत र पुनःनिर्माण (पुनर्संरचना) कार्यमा आर्थिक, भौतिक तथा प्रत्यक्ष–परोक्ष सहयोग गर्ने सबै सहयोगीप्रति कृतज्ञता व्यक्त गर्दै औपचारिक कार्यक्रमको समापन र सांगीतिक कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो।

धेरै पढिएको