काठमाडौँ । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि सोमबार उनलाई ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो। उनको ८९ वर्षीयमा मंगलबार उपचारका क्रममा निधन भएको हो । धर्मेन्द्रले आफ्नो फिल्मी करियरमा १०० भन्दा बढी चलचित्रमा काम गरेका छन्।
उनको निधनको खबरले सम्पूर्ण बलिउड जगत र उनका लाखौं प्रशंसकहरू स्तब्ध भएका छन् । धर्मेन्द्रलाई सोमबार अस्पताल भर्ना गरिएपछि भेन्टिलेटरमा राखिएको थियो र उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जानकारी दिएको थियो । परिवारका सदस्यहरूका अनुसार, धर्मेन्द्रका छोरीहरूलाई विदेशबाट मुम्बई बोलाइएको थियो । छोरा सन्नी देओल सोमबार राति अस्पताल बाहिर अत्यन्तै भावुक मुद्रामा देखिएका थिए भने अर्का छोरा बबी देओल पनि आफ्नो चलचित्र ‘अल्फा’ को छायांकन रोकेर मुम्बई फर्केका थिए ।
बलिउडका महानायक अमिताभ बच्चनदेखि शाहरुख खान, सलमान खान लगायत थुप्रै हस्तीहरू सोमबार अबेर राति ब्रीच क्यान्डी अस्पताल पुगेका थिए । धर्मेन्द्रको निधनको खबरसँगै बलिउडमा शोकको लहर छाएको छ । सामाजिक सञ्जालमा उनका प्रशंसकहरू र सिनेकर्मीहरूले श्रद्धाञ्जलि व्यक्त गरिरहेका छन् ।
छ दशकभन्दा लामो आफ्नो फिल्मी करियरमा धर्मेन्द्रले ‘ही-म्यान’ को उपाधि पाएका थिए । उनले बलिउडलाई ‘शोले’, ‘धर्म वीर’, ‘यादों की बारात’, ‘चुपके चुपके’ जस्ता अनगिन्ती अविस्मरणीय चलचित्रहरू दिएका छन् र लाखौं दर्शकहरूको मनमा राज गरेका थिए । उनको अन्तिम पर्दामा उपस्थिति डिसेम्बर २५ मा रिलिज हुने चलचित्र ‘इक्किस’ मा रहनेछ ।
उनका परिवारमा पत्नी हेमा मालिनी, छोराहरू सन्नी देओल र बबी देओल, छोरीहरू ईशा देओल, आहना देओल, अजिता र विजेता लगायत छन् । भारतीय सिनेमाले एक महान् तारा गुमाएको छ, जसको विरासत सधैं अमर रहनेछ ।