काठमाडौं । नेकपा एमालेले संविधानको रक्षा र प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै देशभर जनपरिचालन अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा आज देशभरका ७५३ वटै पालिकामा एकसाथ जनसभा तथा प्रदर्शन कार्यक्रम आयोजना भइरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको यो कार्यक्रम साँझ ५ बजेसम्म जारी रहने एमालेले जनाएको छ ।
एमाले महासचिव शंकर पोखरेलले पालिका तहका कार्यक्रमका लागि पाँच बुँदे निर्देशन जारी गरेका थिए । सोही निर्देशन बमोजिम आज पालिका तहमा प्रदर्शन, भेला र अन्तरक्रिया लगायतका गतिविधिहरू भइरहेका छन् । कार्यकर्ताहरूले संविधानको रक्षा र लोकतान्त्रिक मूल्यमान्यताको पक्षमा नाराबाजी गर्दै एमालेको शक्ति प्रदर्शन गरिरहेका छन् ।
यसअघि कात्तिक २२ गते वडा तहमा प्रदर्शन गरेको एमालेले अब कात्तिक २९ गते जिल्ला तहमा जनप्रदर्शन गर्ने तयारी गरेको छ । काठमाडौंमा भने मंसिर ६ गते व्यापक जनप्रदर्शनको योजना बनाइएको छ ।
एमालेले आगामी मंसिर २७ गते काठमाडौंमा ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहसँगै वृहत जनसभा गर्ने तयारी गरेको छ । यस दिन देशभरबाट कार्यकर्ता तथा समर्थकहरूलाई काठमाडौंमा उतारेर आफ्नो जनआधार र शक्ति प्रदर्शन गर्ने एमालेको लक्ष्य छ ।