लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) मा एकता भएपछि गठन गरिएको स्टेरिङ कमिटीको पहिलो बैठक शुक्रबार बस्ने भएको छ। डिसेम्बर ५ तारिख बिहान ९ बजेका लागि बैठक तय गरिएको जनाइएको छ।
गत आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एनआरएनएका अध्यक्ष डा. बद्री केसी र महेश कुमार श्रेष्ठ नेतृत्वबीच एकता भएको थियो। एकतापछि ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको थियो। तीमध्ये १० जनाको नाम सार्वजनिक भइसकेको छ भने बाँकी एक सदस्यको नाम चाँडै सार्वजनिक गरिने जानकारी छ।
स्टेरिङ कमिटीमा डा. बद्री केसी, महेश कुमार श्रेष्ठ, विनोद कुँवर, आरके शर्मा, विनोद श्रेष्ठ, बीआर लामा, गौरीराज जोशी, रतन झा, गंगाधर गौतम र भवानी ओली रहेका छन्। समितिको पहिलो बैठकमा संघको कामकाजलाई चुस्त र प्रभावकारी बनाउने विषयमा छलफल हुने तथा सहमति अनुसार १२औँ महाधिवेशनको मिति तय गर्ने तयारी रहेको बताइएको छ।