काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको स्वास्थ्यमा सुधार हुँदै आएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन ।
श्रीवास्तवलाई काठमाण्डूको चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा छातीमा अत्यधिक दुखाइ भएको थियो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई तत्काल नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी धापासीस्थित ग्रान्डी अन्तर्ष्ट्रिय अस्पतालमा पुर्याइएको थियो । चिकित्सकका अनुसार छातीको दुखाइ दिउँसो साँढे एक बजेतिर देखिएको थियो ।
तर उनलाई उद्धार गरी ग्रान्डी ल्याउँदा ४ बजेको थियो । प्रारम्भिक उपचारपछि थप जाँच गर्दा हृदयघात भएको पुष्टि भएको थियो । मुटुको देब्रे नशामा ‘हर्टअट्याक’ भएको थियो । चिकित्सकका अनुसार श्रीवास्तवको तत्काल मुटुको एन्जियोग्राफी गरी अवरुद्ध नशामा स्टेन राखिएको छ । राजदूत श्रीवास्तव अस्पतालको आईसीयूमा उपचाररत छन् ।
उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र केही दिन आईसीयूमा निगरानीमा राखिने चिकित्सकले जानकारी दिएका छन । मुटुमा अन्य केही नशामा पनि अवरोध देखिएको र ती अवरोधहरूलाई आवश्यकता अनुसार पछि उपचार गरिने जानकारी ती चिकित्सकले बताए ।