काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर ब्यारेजको निरीक्षण गरेका छन् ।
ब्यारेजको बुधबार बिहान निरीक्षण गर्दै मन्त्री घिसिङले कञ्चनपुरको टनकपुर ब्यारेजबाट नेपालतर्फको नहरमा पानी छोड्न भारतसँग समन्वय भइरहेको बताए ।
मन्त्री घिसिङले पानी छोड्ने विषयमा भारतीय पक्षसँग दुई देशका संयन्त्र एवम् द्विपक्षीय भेटमा निरन्तर छलफल गरिनुका साथै पत्राचारसमेत भइरहेको उल्लेख गरे ।
कञ्चनपुरका सुख्खा ग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा उपलब्ध गराउन नेपालतर्फ मुख्य नहर र शाखा तथा प्रशाखा नहर बनिसकेकाले भारततर्फबाट पानी छोड्ने निर्णय आउने मन्त्री घिसिङले विश्वास व्यक्त गरे ।
महाकाली सिँचाइ आयोजनामार्फत सतह सिँचाइबाट २८ हजार, भूमिगत सिँचाइबाट ५ हजार गरी ३३ हजार हेक्टर क्षेत्रमा दिगो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य छ । आयोजनाको कूल अनुमानित लागत ३५ अर्ब रुपैयाँ रहेको छ ।