९ माघ २०८२, शुक्रबार
Follow Us

बेलायतमा हिन्दू मन्दिर बनाउने लक्ष सहित ‘धर्मदर्शन यूके’ को स्थापना

नेपालब्रिटेन संवाददाता
३ पुष २०८२, बिहीबार ०१:१०

लण्डन । बेलायतस्थित नेपाली समुदायले आफ्नै धार्मिक, सांस्कृतिक परम्परा र मूल्यमान्यतासहितका चाडपर्वहरूलाई एउटै साझा मञ्चमा समेट्ने उद्देश्यले ‘धर्मदर्शन सांस्कृतिक केन्द्र यूके’ को स्थापना गरिएको छ ।

सांस्कृतिक केन्द्रको स्थापना नेपालका प्रख्यात कथावाचक तथा अठार पुराणका ज्ञाता गुरु पण्डित कुवेर सुवेदीको परिकल्पना र बेलायतस्थित नेपाली समुदायको सक्रियतामा गरिएको हो ।

गत अगष्ट १२ देखि १८ तारिख २०२५ सम्म लण्डनको साउथल विश्व हिन्दु मन्दिरमा पहिलो पटक सार्वजनिक रुपमा आयोजना गरिएको ऐतिहासिक श्रीमद्भागवत वाचनमा देखिएको भक्तजनहरुको उत्साहजनक उपस्थित र सुझावको आधारमा नेपालीहरुकै सक्रियतमा वेष्ट लण्डन क्षेत्रमा नेपाली हिन्दु धर्मावलम्बीहरुको लागि सनातन हिन्दू मन्दिर सहितको एक सांस्कृतिक केन्द्र बनाउने लक्ष लिइएको केन्द्रका अध्यक्ष सहदेव गिरीले जानकारी दिए ।

सो केन्द्रको कार्यसमितिको अध्यक्ष सहदेव गिरी, उपाध्यक्ष दधि आचार्य, महासचिव आनन्द राज आचार्य, कोषाध्यक्ष चिरन शर्मा, सहकोषाध्यक्ष टिका राई, र सदस्यहरुमा श्रीबालेश्वरी देवी, हरि राई, इन्द्र कुमारी गुरुङ्ग, खेम श्रेष्ठ, रेनुका राई, सुमन थापा र सुनिल गुरुङ्ग रहेका छन् । सो केन्द्रको संरक्षकमा पण्डित कुवेर सुवेदी रहेका छन् ।

धर्म दर्शन कल्चर सेन्टरले बेलायतमा हुर्किदै गरेको नयाँ पुस्तालाई हिन्दू धर्म, नेपाली कला, संस्कृति र परम्परालाई जगेर्ना गर्न ठूलो भूमिका खेल्ने पण्डित सुवेदीले बताए। उनले आउने पुस्तालाई समेत जोड्ने यो केन्द्रमा जोडिन बेलायतस्थित नेपाली समुदाय तथा भक्तजनहरुलाई अनुरोध गरेका छन् । सो केन्द्रको संरक्षकको रुपमा बेलायतस्थित नेपाली दूतावासलाई प्रस्ताव गरिएको छ ।


हिन्दू धर्मावलम्बीहरूको लागि सनातन हिन्दू मन्दिर स्थापना गरी सो केन्द्रभित्र विविध धार्मिक देवी देवताहरुको देवालय स्थापना गर्ने, नेपाली कला, संस्कृति तथा परम्परागत भेषभूषाको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गर्ने, सनातन हिन्दू धर्मसम्बन्धी अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा विस्तार गर्ने, नेपालको मौलिक संस्कृतिको संरक्षण, सम्बर्धन , प्रसार र पुस्तान्तरणका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका नीति तथा कार्यक्रमहरू तय गरी कार्यान्वयन गर्ने, सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा सक्रिय भूमिका निर्वाह गर्न नयाँ पुस्तालाई प्रोत्साहन गर्ने लगायतका उद्देश्यहरु रहेका छन् ।

केन्द्रमा सनातन परम्परा अनुसार दैनिक पूजाअर्चना, कला तथा सांस्कृतिक प्रशिक्षण कार्यक्रम, नियमित योग कक्षा, विवाह, ब्रतवन्ध, श्री मद्भागवत तथा अन्य धार्मिक अनुष्ठान, सामूहिक भोजन, मानसिक स्वास्थ्य सुदृढीकरणका लागि साउण्ड हिलिङ्ग प्रशिक्षण, पुस्तकालय तथा क्यान्टिन सुविधा हुने परिकल्पना गरिएको छ ।

बेलायतस्थित स्थानीय सरकार र नेपाली समुदायको बृहत् सहयोगमा स्थापना हुने सो केन्द्र संचालनको लागि ट्रस्टी, संरक्षक परिषद्, कार्यसमिति र विभिन्न विभागहरु लगायतका संस्थागत संरचना रहने छन् ।

धर्मदर्शन सांस्कृतिक केन्द्र यूकेमा आबद्ध हुन चाहनेहरुको लागि डायमण्ड, गोल्ड, सिल्भर, संस्थापक, र आजीवन सदस्यताको व्यवस्था गरिएको छ । ती सदस्यहरुको नाम केन्द्रभित्र विशेष स्थानमा सूचिकृत गरिने केन्द्रले जनाएकोछ ।

==================

धेरै पढिएको