काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई कुनै संकटको घडीको रूपमा लिन नहुने बताएकी छिन् ।
सोमबार सिंहदरवारमा आयोजना गरिएको सर्वपक्षीय बैठकलाई सम्बोधन गर्ने क्रममा उनले निर्वाचनलाई परिवर्तनको मार्गको रूपमा बुझ्न आग्रह गरिन् ।
‘निर्वाचन भनेको हाम्रो लागि कुनै संकटको घडी होइन, खुशीको घडी हो । परिवर्तनको मार्ग हो । आजसम्म नेपालमा केही परिवर्तन आएका छन् भने निर्वाचनले नै हौ,’ उनले भनिन् । साथै, उनले अहिलेको चुनौतीको रूपमा युवा वर्गलाई फ्रन्टमा ल्याउनुपर्ने बताइन् ।
‘अचानक यो परिस्थिति आयो । भदौ २३ र २४ गते सोचसमचभन्दा बाहिरको घटना जे घट्यो । जुन हामी परिकल्पना समेत गरेका थिएनौँ । सिंगो राष्ट्रले एउटा परिवर्तनको महसुस गर्यो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अहिलेको चुनौती भनेको युवा वर्गलाई कसरी फ्रन्ट रोमा ल्याउने, उनीहरूको नेतृत्वमा मुलुकलाई कसरी अघि बढाउने भन्ने भावना आयो ।
देशको सर्वैसर्वा भनेको जनता नै रहेको उनले बताइन् । ‘कुनै पनि राजनीतिक दलभित्र भागबन्डा मिल्यो भने त्यसको तनाव जनतालाई दिन हुँदैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘सबैभन्दा ठुलो महान् भनेको जनता हो । राजनीतिक दल भनेको सेकेन्डरी कुरा हो । जनता के चाहन्छ ? अहिलेको माग के हो ? जेनजी आन्दोलनमा बालक मारिए, त्यसले त जनतामा प्रभाव परेको छ नि त । हामीले के का लागि परिवर्तन गर्ने रु जेनजीले के खोजेको, युवा पुस्ताले के खोजेको भन्ने त बुझ्नुपर्यो । मेरो गोरुको बाह्रै टक्का गरेर हुँदैन ।’