९ माघ २०८२, शुक्रबार
Follow Us

भदौ २४ को विध्वंस जेनजीको आन्दोलन होइन, सुनियोजित अपराध हो : तनुजा पाण्डे

नेपालब्रिटेन संवाददाता
९ पुष २०८२, बुधबार ०६:२४

काठमाडौं । जेनजी आन्दोलनकी अगुवा तनुजा पाण्डेले भदौ २३ गते भएको सरकारी दमन र त्यसको भोलिपल्ट (भदौ २४) मच्चाइएको विध्वंस दुवै घटनाका दोषीलाई कानुनी कठघरामा उभ्याउन माग गरेकी छिन् ।

उनले भावनात्मक आवेगमा सुरु भएको आन्दोलनमा घुसपैठ गराएर सुनियोजित रूपमा तोडफोड गरिएको दाबी समेत गरेकी छिन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पाण्डेले सहिदहरूको न्यायका लागि हत्याराहरू र आन्दोलनलाई हिंसात्मक बनाउने विध्वंसकारी दुवैलाई कारबाही हुनुपर्नेमा जोड दिएकी हुन् ।

प्राज्ञ रवि लक्ष्मी चित्रकारको तस्बिरले आफूलाई गम्भीर बनाएको उल्लेख गर्दै उनले भदौ २३ को घटनालाई राज्यसत्ताले आफ्नै नागरिकमाथि गरेको ‘नरसंहार’ को संज्ञा दिइन् । ‘त्यो दिन सिङ्गो नेपाल शोकमा डुबेको थियो,’ उनले लेखेकी छिन्, ‘आफ्नै साथीभाइ ढलेको देख्दा एक मानवका रूपमा क्रोधित, भावुक र पीडित हुनु स्वाभाविक मानवीय प्रतिक्रिया हो । भदौ २४ मा सडकमा पोखिएको आक्रोश त्यही पीडाको उपज थियो ।’

तर, उनले भदौ २४ मा भएका आगजनी र तोडफोडका घटनालाई भने जेनजीको ‘स्वभाविक आन्दोलन’ बाट अलग्याएकी छिन् । सडकमा निस्किएको आम जनसागर निहत्था र बिनायोजना आएको बताउँदै उनले देशभर एकै समयमा, एकै शैलीमा भएका विध्वंसात्मक घटनाहरूमा सङ्गठित शक्ति वा घुसपैठको हात रहेको सङ्केत गरिन् । ‘आन्दोलनको नाममा पछि जे भयो, त्यो सामान्य आक्रोश मात्र थिएन,’ पाण्डेले प्रश्न उठाउँदै भनेकी छिन्, ‘न कुनै पूर्वतयारी, न हातहतियार, न त व्यापक समन्वय सञ्जाल भएको जेनजी समूहबाट त्यति ठुलो सुनियोजित अपराध सम्भव नै थिएन । ती कार्यहरू हाम्रो आन्दोलनको आत्मा र नैतिकताविपरीत थिए ।’

पाण्डेले राज्यले दोहोरो मापदण्ड त्यागेर निष्पक्ष छानबिन गर्नुपर्ने बताएकी छिन् । यदि राज्यले सहिदलाई न्याय दिन र हिंसा मच्चाउने अपराधीलाई कानुनी दायरामा ल्याउन नसके नेपालको इतिहासमा यो कालखण्ड ‘कालो धब्बा’ बन्ने उनको चेतावनी छ । उनले स्पष्ट शब्दमा भनेकी छिन्, ‘अन्याय र दण्डहीनतालाई संरक्षण गर्ने हो भने यो देश असफल राष्ट्रका रूपमा मात्र इतिहासमा सम्झिनेछ ।’

धेरै पढिएको