११ पुष २०८२, शुक्रबार
Follow Us

नेपाली कांग्रेस केन्द्रले तत्काल विशेष महाधिवेशनको बाटो खोल्नुपर्ने माग

नेपालब्रिटेन संवाददाता
११ पुष २०८२, शुक्रबार ०५:३९

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शंकर तिवारीले पार्टी केन्द्रले तत्काल विशेष महाधिवेशनका लागि मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका छन्। उनले पार्टी नेतृत्वको ढिलासुस्ती र बदनियतपूर्ण कार्यशैलीले कार्यकर्ताहरू अपमानित भएको टिप्पणी गरेका छन्।

भाद्र २३ र २४ को राजनीतिक उथलपुथलपछि नेपाली कांग्रेसको ४९ दिन लामो केन्द्रीय कार्यसमिति बैठकले पुष २६–२८, २०८२ मा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर हालसम्मका गतिविधि हेर्दा तोकिएको समयमै नियमित महाधिवेशन हुने कुनै संकेत नदेखिएको तिवारीको भनाइ छ। पार्टी प्रवक्ताबाटै नियमित अधिवेशन समयमै हुन नसक्ने संकेत आउनुले नेतृत्वको असक्षमता प्रष्ट भएको उनको आरोप छ।

तिवारीले नियमित महाधिवेशनको कार्यतालिका विशेष महाधिवेशनको माग दबाउन रचिएको रणनीति मात्र भएको दाबी गरेका छन्। ‘रकेट गति’मा महाधिवेशन हुने भनिएको कार्यतालिकालाई विश्वास गर्नु कार्यकर्ताहरूको ठूलो भूल भएको उल्लेख गर्दै उनले अब त्यस भ्रमबाट बाहिर निस्किनुपर्ने बताएका छन्।

विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका कार्यकर्ताहरू काठमाडौँ आएर केन्द्रीय कार्यालय घेराउ गर्नुपर्ने अवस्था आएको तिवारीको भनाइ छ। निर्वाचनअघि पार्टीलाई बदल्ने र भाद्र २३–२४ का घटनाबाट पार्टीले पाठ सिकेको सन्देश दिन त्यसबाहेक अर्को विकल्प नरहेको उनले बताए।

क्रियाशील सदस्यता वितरणमा कसको कमजोरी भयो भन्ने परस्पर दोषारोपणमा आफूहरू रुचि नराख्ने उल्लेख गर्दै तिवारीले पार्टीको वर्तमान गतिरोधका लागि सम्पूर्ण केन्द्रीय कार्यसमिति नै जिम्मेवार रहेको आरोप लगाए। कार्यकर्ता र आम जनताले केन्द्रीय कार्यसमितिभित्र कसको नियत के छ भन्ने कुरा बुझिसकेको उनको दाबी छ।

उनले बीपी कोइराला लगायत अग्रज नेताहरूले प्रतिपादन गरेको सिद्धान्त, दर्शन र विचारबाट दीक्षित कार्यकर्ताहरूले अब निर्णायक कदम चाल्ने समय आएको बताए। सत्तामुखी सोच मात्र राख्नेहरूबाट समयसापेक्ष कांग्रेस निर्माण सम्भव नरहेको उनको टिप्पणी छ।

पार्टी विधानको दफा १७.२ को पालना गर्न पार्टी केन्द्रलाई आग्रह गर्दै तिवारीले विधानभन्दा माथि कोही पनि नभएको स्पष्ट पारे। पार्टी केन्द्रले विधान नमान्ने हो भने विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका कार्यकर्ताहरूले आफैं निर्णय लिन बाध्य हुने चेतावनी पनि उनले दिए।

“पार्टी अनुशासनको नाममा पार्टीलाई बन्धक बनाउने अधिकार कसैलाई छैन,” उनले भने, “अब धेरै भइसक्यो, इनफ इज इनफ।”

धेरै पढिएको