काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रिय सभा निर्वाचनका मंगलवार (भोली) उम्मेदवार टुंगो लगाउने भएको छ ।
सोमवार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो निर्वाचनको लागि उम्मेदवार टुंगो लगाउने गरी मंगलवार पुनः बैठक बोलाउने निर्णय गरेको हो ।
सो निर्वाचनमा अन्य दलहरुसँगको चुनावी तालमेललगायतका विषय र उम्मेदवारको विषय टुंगो लगाउन मंगलवार पुनः ११ बजे बैठक बोलाउने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
उनले आजको बैठकमा चुनावी तालमेलका लागि एमाले, नेकपालगायतका दलहरुसँग पार्टीको शिर्ष तहबाट छलफल भइराखेकाले भोली बैठक बसेर त्यस बारेमा पनि निर्णय लिने निष्कर्षमा पुगिएको बताए ।
नेपाली काँग्रेसले राष्ट्रिय सभा निर्वाचनमा सहकार्यका लागि पार्टी सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाललगायतका नेताहरुसँग छलफल गरिरहेका छन् ।
नेपाली काँग्रेसको राष्ट्रिय सभामा सबैभन्दा बढी मतभार छ । सोही मतभारको आधारमा अन्य दलहरुसँग पनि तालमेल गरेर राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने गरी छलफल भइरहेको प्रवक्ता महतले बताए ।