२५ पुष २०८२, शुक्रबार
Follow Us

टी–२० विश्वकपमा एनपीएलका स्टारहरूलाई मौका !

नेपालब्रिटेन संवाददाता
२४ पुष २०८२, बिहीबार १२:३६

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ बाट सुरू हुँदैछ । ओमानमा भएको एसिया तथा ईएपी छनोटमा शीर्ष स्थान हासिल गर्दै नेपालले लगातार दोस्रो तथा समग्रमा तेस्रोपटक विश्वकपमा स्थान बनाएको हो ।

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा सोमपाल कामी एक्ला खेलाडी हुन्, जसले नेपालका सबै तीन विश्वकप खेल्नेछन् ।

कप्तान रोहित पौडेलसहित ९ खेलाडीले लगातार दोस्रोपटक विश्वकप खेल्ने अवसर पाएका छन् । उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, सन्दीप जोरा, आसिफ शेख, ललित राजवंशी, गुल्सन झा र करण केसीले पनि अघिल्लो संस्करणमा खेलेका थिए ।

सन् २०२४ को विश्वकप खेलेका अनिलकुमार शाह, कुशल मल्ल, प्रतिश जिसी, अभिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी यसपटक टोलीमा स्थान बनाउन असफल भए । यीमध्ये अनिल, सागर र कमल प्रारम्भिक छनोटमा पनि परेका थिएनन् भने कुशल, प्रतिश र अभिनाश अन्तिम टोलीबाट बाहिरिएका हुन् ।

उनीहरूको अनुपस्थितिमा ५ खेलाडीले पहिलोपटक विश्वकप खेल्ने मौका पाएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल, नन्दन यादव, लोकेश बम, बसिर अहमद र आरिफ शेखले डेब्यु गर्ने अवसर प्राप्त गरेका हुन् ।

एनपीएलमा जादुमय प्रदर्शन गरेका शेर मल्लले विश्वकपसँगै राष्ट्रिय टोलीबाट पनि डेब्यु गर्ने सम्भावना छ । उनकै योगदानमा लुम्बिनी लायन्सले एनपीएलको उपाधि जितेको थियो । नन्दन, लोकेश र आरिफ पछिल्लो समय राष्ट्रिय टी–२० टोलीसँग जोडिएका छन् भने बसिर अहमदले लामो समयपछि कमब्याक गरेका छन् ।

विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । समूहमा नेपालसँगै इंग्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् । नेपालले पहिलो खेल फेब्रुअरी ८ मा इंग्ल्याण्डसँग मुम्बईको वानखेडे स्टेडियममा खेल्नेछ ।

त्यस्तै, फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा बंगलादेशसँग खेल्ने तालिका छ । नेपालका सबै समूह चरणका खेल मुम्बईमा हुनेछन् ।

नेपालले यस विश्वकपमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । एनपीएलको सफलतापछि नयाँ खेलाडीहरूले टोलीमा थप ऊर्जा दिने विश्वास गरिएको छ ।

धेरै पढिएको