२५ पुष २०८२, शुक्रबार
Follow Us

मन्त्री बब्लु गुप्तालाई अमेरिका बोलाइएको छैन : एनआरएनए

नेपालब्रिटेन संवाददाता
२५ पुष २०८२, शुक्रबार ०३:५२

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा आमन्त्रण गरिएको भन्ने हल्ला निराधार रहेको स्पष्ट पारेको छ । संघले आफ्नो नाम र डिजिटल प्लेटफर्मको दुरुपयोग गरी अमेरिकामा मानव तस्करी जस्तो जघन्य अपराधको प्रयास भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै एनआरएनए अमेरिकाले मन्त्री गुप्ता वा अन्य कुनै व्यक्तिका लागि युवा लक्षित कार्यक्रम आयोजना नगरिएको प्रस्ट्याएको हो । संघले आफ्नो आधिकारिक जानकारी र स्वीकृति बेगर केही समूहले संस्थाको नाम, वेबसाइट र ‘डिजिटल आइडेन्टिटी’ प्रयोग गरी अनधिकृत गतिविधि सञ्चालन गरिरहेको दाबी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एनआरएनए अमेरिकाको नाममा अनधिकृत कार्यक्रम खडा गरी मानव तस्करीजस्ता गैरकानुनी काम भइरहेको विश्वसनीय सूचना हामीलाई प्राप्त भएको छ । अमेरिकामा विधिवत् दर्ता भएको संस्थाको साख गिराउने गरी भइरहेका यस्ता गतिविधिप्रति हामी सचेत छौँ ।’

संस्थाले आफ्नो नाम जोडेर गरिने कुनै पनि शंकास्पद गतिविधिले गम्भीर कानुनी र आर्थिक जोखिम निम्त्याउन सक्ने चेतावनी दिएको छ । एनआरएनए अमेरिकाले यस्ता भ्रामक सूचना र गिरोहबाट सतर्क रहन तथा संस्थाका आधिकारिक माध्यमबाट आएका सूचनालाई मात्र सत्य मान्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

धेरै पढिएको