२९ पुष २०८२, मंगलवार
Follow Us

इक्यान अध्यक्षमा लक्ष्मण पौडेल विजयी, महासचिवमा हुमागाईँ निर्वाचित

नेपालब्रिटेन संवाददाता
२९ पुष २०८२, मंगलवार ०४:३१

काठमाडौं । नेपालका शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन ‘नेपाल शैक्षिक परामर्श व्यवसायी संघ’ (इक्यान) को नयाँ नेतृत्व चयन भएको छ । सोमबार काठमाडौँमा सम्पन्न संघको २०औँ साधारणसभाले आगामी दुई वर्षका लागि लक्ष्मण पौडेल (एन्ड्रयु) लाई अध्यक्षमा निर्वाचित गरेको हो ।

अध्यक्ष पदका लागि भएको कडा प्रतिस्पर्धामा पौडेलले आफ्ना निकटतम प्रतिद्वन्द्वी दीपकराज भुसाललाई पराजित गरेका हुन् । पौडेल प्यानलसहित चुनावी मैदानमा उत्रिए पनि कार्यसमितिमा मिश्रित परिणाम आएको छ । पौडेल नेतृत्वको समूहबाट अधिकांश पदाधिकारी विजयी हुँदा महासचिव पदमा भने भुसाल समूहका भवनाथ हुमागाईं निर्वाचित भएका छन् ।

निर्वाचन परिणाम अनुसार उपाध्यक्ष पदमा बासुदेव दाहाल, विकल्पराज पोखरेल र गीता शिवाकोटी विजयी भएका छन् । विजयी उपाध्यक्षमध्ये दाहाल र शिवाकोटी पौडेल समूहका हुन् भने पोखरेल भुसाल समूहबाट उम्मेदवार बनेका थिए । त्यसैगरी, सचिव पदमा सुरज सिलवाल र आशिक कार्की निर्वाचित भएका छन् । कोषाध्यक्षमा पौडेल समूहकै साधना पुडासैनी र सह-कोषाध्यक्षमा गोविन्द खनाल चुनिएका छन् ।

कार्यसमिति सदस्यहरूमा अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोककुमार हाथी, दिनेश पौडेल, सन्जीव पाण्डे, शिव प्रसाद अर्याल र कमलप्रसाद तिमल्सिना निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष पौडेलले व्यावसायिक हकहित र शैक्षिक परामर्श क्षेत्रको गरिमा उच्च बनाउन आफ्नो कार्यकाल केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

धेरै पढिएको