९ फाल्गुन २०८२, शनिबार
Follow Us

सुरक्षित,मर्यादित र सीपमूलक वैदेशिक रोजगारी जरुरी : एनआरएनए उपाध्यक्ष डा.हेमराज शर्मा

नेपालब्रिटेन संवाददाता
९ फाल्गुन २०८२, शनिबार ०७:५०

बहराइन । गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष एवं आगामी अध्यक्षका उम्मेदवार डा.हेमराज शर्माले सुरक्षित,मर्यादित र सीपमूलक वैदेशिक रोजगारी आफ्नो एजेण्डा भएको बताएका छन्।

गैरआवासीय नेपाली संघ बहराइनद्धारा बिहिवार आयोजित अन्तरक्रिया कार्यक्रममा शर्माले आफूले अध्यक्षमा उठ्ने निर्णय गरेको र १३ बुँदे एजेण्डा सार्वजनिक गरेको भन्दै एउटा सुरक्षित, मर्यादित र सीपमूलक वैदेशिक रोजगारी भएको बताए ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेर मध्यपूर्वको भ्रमणमा निस्किएका उपाध्यक्ष शर्माले एनआरएनए बाहिर सिकेको ज्ञान सीप नेपालको हितमा प्रयोग गर्नुपर्छ सुरु गरेको अभियान भएको बताए। एनआरएनए संसारकै नेपालीबीचको नेटवर्क भएको र सम्पर्क र समन्वयमात्र नेपालीहरुलाई जोड्ने काम गरेको उनको भनाइ थियो। एउटा नेपालीलाई पर्दा अर्को नेपालीले सहयोग गर्न नेटवर्क चाहिएको र एनआरएनए त्यो भएको बताए । यो गौरवको विषय भएको उनको भनाइ थियो।

शर्माले पहिलो रिजनल कन्फरेन्स कतारमा भएको भन्दै त्यो मध्यपूर्वको समस्या बुझ्नका लागि भएको र नेपाल सरकार तथा मध्यपूर्वका देशहरुको सरकारबीच समन्वय गर्ने,नीतिगत सुधारहरु गर्ने कुरामा योगदान हुने बताए।

उनले मध्यपूर्वबाट उपाध्यक्ष निर्वाचित भए यहाँको समस्यालाई नेतृत्वमा उठान गर्न सक्ने भन्दै प्रतिस्पर्धा गर्न सुझाए। मध्यपूर्वबाट उपाध्यक्ष कोटा तोक्न आफूले प्रयत्न गरेको तर सफल नभएको उनले सुनाए। नेपाली राजदूतावासमा कर्मचारी पर्याप्त नभएको र यो अवस्थामा एनआरएनएले भूमिका खेल्दै आएको भन्दै प्रशंसा गरे।

शर्माले सधै धनी व्यक्ति नेतृत्वमा नआउने भन्दै संस्थागत स्रोत सुनिश्चित गर्नुपर्ने बताए। हरेक सदस्यले एक डलर राखिदिँदा पनि एक लाख डलर जम्मा हुने भन्दै नेता धनी धनी संस्था गरिबको अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ थियो। त्यो स्रोतलाई वैदेशिक रोजगारीमा आउने नेपालीको हितमा प्रयोग गर्न सकिने उल्लेख गरे। शर्माले नेपाल सरकारको खातामा रहेको पैसा समस्यामा परेका नेपाली कामदारको उद्धारमा खर्च गर्नुपर्नेमा जोड दिए।’अन्तर्राष्ट्रिय संगठन,हामीले सिकेको ज्ञान सीप,दूतावासको स्रोत,सरकारको पैसा,त्यो सबैलाई एकीकृत बनाउन सक्यो भने धेरै समस्या समाधान गर्न सकिन्छ। यो सबैलाई एक ठाउँमा ल्याउन लाग्नुपर्छ,’उनले भने।

शर्माले प्रवासका नेपालीको समस्या र सम्भावनाबारे स्वेतपत्र जारी गर्न सुझाए।’हरेक देशमा भएका नेपालीको समस्या के हो, सम्भावना के छ? त्यो सहितको स्वेतपत्र तयार गर्न सक्यो भने हाम्रो एनआरएनएको र नेपाल सरकारको त्यसमा आधारित भएर कार्यक्रम ल्याउन सकिन्छ। पैसा कहाँ लगाउने भन्ने थाहा हुन्छ । यो हामीले गर्नुभन्दा यो क्षेत्रमा काम गर्ने संस्थाबाट गराउन सकिन्छ,’उनले भने ।

शर्माले विदेशमा आउने नेपालीलाई स्थानीय समस्याबारे औरियन्टेसन नभएको भन्दै वैदेशिक रोजगार विभागले गर्नुपर्ने बताए।’खानपान रहनसहनदेखि कानुन र हकहितसम्मका कुरा समेट्नुपर्छ,’उनले भने। हप्ताको एकपटक श्रमिकलाइ ओरियन्टेसन कार्यक्रम राखिदिन अनुरोध गरे।’बरु भर्चुअल माध्यमबाट बस्नुस् । यसले श्रमिक हकहितलाई प्रवर्द्धन गर्ने र यो कार्यक्रम धेरै पैसा बिनै सजिलै गर्न सक्ने हुन्छ,’उनले भने।

सामाजिक सुरक्षा कोषमा आबद्धतालाई पनि अनिवार्य हुनु राम्रो भएको भन्दै एनआरएनएले यसमा लामो लबिङ गरेको सुनाए । कार्यक्रममा रोजिना प्रधान राई,यूरोप संयोजक चिरन्जीबी खड्का, मध्यपूर्व संयोजक राजेन्द्र अर्याल,सभापति एनआरएन बहराइनका अध्यक्ष राजु कुमार श्रेष्ठ,लगायत संघका पदाधिकारीहरुले बोलेका थिए।

धेरै पढिएको