बैतडी । बैतडीमा चुनाव प्रचारप्रसारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच मुठभेड भएको छ । घरदैलो अभियानका क्रममा दुई पक्षबीच भएको झडपमा परी एमालेका दुई जना कार्यकर्ता घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक सुरज सिंहका अनुसार, जिल्लाको डिलासैनी गाउँपालिका-७ स्थित लेक टोलमा मतदाताको घरदैलोमा पुग्ने क्रममा दुवै दलका कार्यकर्ताबीच जम्काभेट भएको थियो । सोही क्रममा सामान्य विवाद बढ्दै गएर झडपको स्थिति सिर्जना भएको हो ।
झडपमा परी एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका जिल्ला सदस्य २८ वर्षीय जनक धामी र सोही ठाउँका २६ वर्षीय माधव धामी घाइते भएका छन् । प्रहरी निरीक्षक सिंहका अनुसार घाइतेमध्ये जनकको टाउको र निधारमा चोट लागेको छ भने माधवको ढाड र दाहिने खुट्टामा चोट पुगेको छ । दुवै घाइतेको तत्काल उद्धार गरी हाल गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
चुनावको मुखमा राजनीतिक दलका कार्यकर्ताबीच यसरी झडप भएपछि सो क्षेत्रको सुरक्षा संवेदनशीलता बढेको छ । घटनाको विस्तृत अध्ययन, सत्यतथ्य संकलन र शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी निरीक्षककै कमान्डमा एक टोली घटनास्थलतर्फ परिचालन गरिएको प्रहरीले जनाएको छ।