लन्डन । बेलायतको अल्डरशट हाई स्ट्रिट क्षेत्रमा एक ८१ वर्षीया नेपाली वृद्धा महिला बेपत्ता भएकी छन् । ग्रेटर रस्मूर नेपाली कम्युनिटीकी अध्यक्ष लिला सेलिङ माबोका अनुसार ती महिला २० अप्रिलदेखि सम्पर्कविहीन भएकी हुन् ।
बेपत्ता महिलाको उचाइ करिब ५ फिट रहेको, सेतो कपाल भएको र अन्तिम पटक लामो कालो ज्याकेट लगाएकी अवस्थामा देखिएको बताइएको छ । सुरक्षाका कारण उनको नाम र ठेगाना सार्वजनिक गरिएको छैन ।
उनी एक संवेदनशील अवस्थामा रहेको र अलमलिएको वा डराएको हुन सक्ने भएकाले कसैले देखेमा नझस्काउने गरी शान्त रूपमा नजिकिन वा सुरक्षित दूरी कायम गर्न अनुरोध गरिएको छ । उनलाई निरन्तर नजरमा राखी तत्काल प्रहरी वा आपतकालीन सेवामा जानकारी गराउन पनि आग्रह गरिएको छ ।
साथै ग्रेटर रस्मूर नेपाली कम्युनिटीले पनि उनलाई देखेमा तुरुन्त सम्पर्क गर्न अनुरोध गरेको छ । सम्पर्क नम्बर +४४ ७४६४ ४३१६०९ रहेको जनाइएको छ ।