लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माले राष्ट्रिय समन्वय परिषद्हरूमा देखिएको विवाद समाधान गर्ने क्रममा विश्वव्यापी भ्रमण थालेको एक महिनामै आधा दर्जनभन्दा बढी देशमा एकता कायम गर्न सफल भएका छन्।
यसै क्रममा गैरआवासीय नेपाली संघ, नेदरल्याण्डका दुई कार्यसमितिबीच पनि एकता गर्ने सहमति भएको छ। केन्द्रीय अध्यक्ष डा. हेमराज शर्माको उपस्थितिमा बुधबार भएको सहमतिअनुसार यसअघि अस्तित्वमा रहेका दुई कार्यसमिति मर्ज (एकीकृत) भएका छन्।
दुई पक्षबीच भएको ६ बुँदे सहमतिअनुसार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) नेदरल्याण्डमा हाल कार्यरत दुई कमिटीलाई एकीकृत गर्दै आगामी जुलाई ३१, २०२५ सम्म सावित्री पौडेल (सबु) ले कार्यकारी अध्यक्षका रूपमा नेतृत्व गर्ने सहमति भएको छ। अर्का अध्यक्ष विष्णु पौडेलले बैठकहरूमा सहभागी भई कार्यकारी अध्यक्षलाई सहयोग गर्नेछन्।
त्यसैगरी, जुलाई ३१, २०२५ पश्चात् विष्णु पौडेलले अध्यक्षका रूपमा नेतृत्व सम्हाल्ने सहमति भएको छ। साथै, हालको कार्यकाल समाप्तिपछि निर्वतमान अध्यक्षहरूले नै आगामी नेतृत्व गर्ने व्यवस्था रहने उल्लेख गरिएको छ। यस कार्यकालमा नरहेका पदाधिकारी तथा सदस्यहरूको समेत एक कार्यकाल पूरा गरेको मान्यता दिई दस्तावेजीकरण गर्ने सहमति गरिएको छ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. हेमराज शर्माले सहमति प्रक्रियामा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै बाँकी एनसीसीहरूमा पनि छिट्टै एकता कायम हुने विश्वास व्यक्त गरे।
संघका महासचिव चिरञ्जीवी खड्का लगायत विभिन्न सामाजिक अभियन्ता तथा नेदरल्याण्डस्थित संघ–संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको विशेष उपस्थितिमा उक्त सहमति जुटेको हो।
यस क्रममा संघका केन्द्रीय पदाधिकारीहरू बेल्जियम पनि पुगेका थिए। यसअघि बेल्जियम, यूएई, फ्रान्स, कोरिया, लक्जेम्बर्ग, माल्टा लगायतका देशहरूमा समेत एकता प्रक्रिया सम्पन्न भइसकेको छ।
